काठमाडौं । अर्जेन्टाइन फुटलब स्टार लियोनल मेसीले कीर्तिमानी आठौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।
गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई उपाधि जिताउन नेतृत्त्वदायी भूमिका खेलेका ३६ वर्षीय मेस्सीलाई सोमबार पेरिसमा आयोजित समारोहमा पुरुषतर्फको उक्त अवार्डको विजेता घोषणा गरिएको हो ।
विश्व फुटबलको सबैझन्दा ठूलो व्यक्तिगत अवार्ड जित्ने त्रममा मेसीले केयलिन एमबापे र इर्लिङ हाल्यान्डलाई पछि पार्दै आफ्नो नाममा कीर्तिमान बनाएका हुन् ।
मेसीले बालोन डी’ओर अवार्ड जितेको यो आठौं पटक हो । उनले सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१८, २०२१ र २०२३ मा बालोन डी’ओर अवार्ड जितेका हुन् । उनी सबैभन्दा धेरै पटक अवार्ड जित्ने खेलाडी हुन् ।
मेसीले गत वर्ष कतारमा सम्पन्न विश्कपमा अर्जेन्टिनालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हारेको थियो । मेसीले गत विश्वकपमा सात गोल गरेका थिए । उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।
‘फेरि एकपल्ट यो अवार्ड जितेकोमा खुसी छुं । विश्वकप जितेसँगै हामीले त्यो सपनालाई पूरा गरेका थियौं,’ अवार्ड हात पारेपछि उनले भने, ‘मैले फुटबल खेलेर यस्तो उपलब्धी हात पार्न सक्ने थिएँ भनेर कहिले पनि कल्पना गरेका थिइनं । म भाग्यमानी रहें, किनभने मैले खेलेको टिम बलियो रह्यो ।’
महिलातर्फ स्पेन तथा बार्सिलोनाकी आइटाना बोनमनी उत्कृष्ट घोषित भइन् भने इंग्ल्यान्ड तथा रियल म्याड्रिडका जुड बेलिङघम उत्कृष्ट युवा खेलाडी रहे । यस्तै, अर्जेन्टिनाकै इमालिनो मार्टिनेज उत्कृष्ट गोलरक्षक चुनिए । म्यानचेस्टर सिटी भने वर्षकै उत्कृष्ट क्लब रह्यो ।