मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित, बने यस्ता ४ विश्व रेकर्ड

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई २७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो ।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मङ्गोलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो । नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो। उसका लागि जम्यासुरेनले १० रन जोड्नु बाहेक अरु ब्याटरले सम्झिनलायक ब्याटिङ गर्न सकेनन् ।

बलिङतर्फ नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले दुई दुई तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।

यसअघि मंगोलियाविरुद्ध ब्याटिङ गर्ने क्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरे । कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए। यसअघि सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। उनीहरुले ३५ बलमै शतक बनाएका थिए ।

दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा अर्धशतक बनाएर अर्को विश्व कीर्तिमान बनाए। यसअघि भारतका युवराज सिहले १२ बलमा अर्धशतक बनाएका थिए । कुशल मल्लले ५० बलमा अविजित १३७ रन तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए । मल्लले यस क्रममा १२ छक्का र ८ चौका तथा ऐरीले ८ छक्का प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा आसिफ शेखले १७ बलमा १६ रन बनाए ।

नेपालले समूह चरणको अर्को खेल माल्दिभ्ससित खेल्नेछ।

कामपाले निर्धारण गर्‍यो अनुगमन गर्न १६ सूचक Read Previous

कामपाले निर्धारण गर्‍यो अनुगमन गर्न १६ सूचक

आइपीओको भाउमै अपि पावरको १२ लाख कित्ता सेयर बिक्रीमा Read Next

आइपीओको भाउमै अपि पावरको १२ लाख कित्ता सेयर बिक्रीमा