काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौंको माइतीघर-बानेश्वर रुटको सवारी आवगमन अस्तव्यस्त भएको छ ।
सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयक विरुद्ध नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा देशभरका शिक्षक काठमाडौंमा आन्दोलित भएका हुन् । आन्दोलनका कारण भद्रकाली, थापाथली, नयाँबानेश्वर, कोटेश्वर सम्म सवारी आवगमन अस्तव्यस्त भएको छ ।
देशभरका शिक्षकहरु विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । माइतीघरमा भेला भएका शिक्षकहरु अहिले मार्चपास गर्दै बानेश्वर पुगेका छन् ।
शिक्षकहरु प्रस्तावित विधेयमा गरिएका केही व्यवस्थाहरु खारेजसहित विभिन्न १८ बुँदे माग राख्दै आन्दोलमा उत्रिएका हुन् ।
शिक्षा विधेयकमा गरिएका व्यवस्थाले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा रहेका समस्या समाधान गर्न नसकेको भन्दै उनीहरु आन्दोलनमा होमिएका हुन् ।