ट्राफिक नियम उल्लंघन गर्ने १ लाख १७ हजार बढीलाई कारबाही

काठमाडौं । चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा सडक अनुशासन उल्लङ्घन गर्ने १ लाख १७ हजार ४६८ लाई कारबाही गरिएको छ ।

सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को बिहीबारको बैठकमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चालु आवको हालसम्म सडक अनुशासन उल्लङ्घन गर्ने १ लाख १७ हजार ४६८ लाई कारबाही गरिएको जानकारी दिए ।

उनका अनुसार आव २०७८/७९ मा ५ लाख ४ हजार ५९७ र आव २०७९/८० मा ८ लाख ९५ हजार ६१ लाई कारबाही गरिएको थियो । बैठकमा उपरीक्षक भट्टले एक जना ट्राफिक प्रहरीले १.८७ किलोमिटर सडक क्षेत्रमा करिब १ हजार ६४८ सवारीसाधन व्यवस्थापन गर्नुपरेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्यक्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै पनि निर्णय गर्नुअघि प्राधिकरणसँग समन्वय गर्नुपर्ने निर्णय गरेको छ ।

प्रमुख शाहले परिषद्ले आफ्नो क्षेत्रभित्रको काम थालेको बताए । ‘यसअघि सङ्घीय र प्रदेश सरकार वा यातायात क्षेत्रको नियमन, व्यवस्थापन गर्ने कार्यालयले सञ्चालन गरेका वा निर्णय गरेका कामलाई सार्वजनिक लाभ र दिगोपनाको विश्लेषण गरेर नियमित सञ्चालन गरिनेछ । विगतमा गरिएका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था तथा कार्यान्वयन भएका नीतिको नतिजालाई कार्यक्रम सञ्चालनको आधार बनाउन सकिन्छ,’ उनले भने, ‘ऐनले प्रदान गरेका अधिकारमध्ये ९० प्रतिशत काम पालिकाले नियमित प्रक्रियाबाटै सञ्चालन गर्न सक्नेछन् ।’

बैठकले प्राधिकरणको कोष सञ्चालन सम्बन्धमा छलफल गर्दै सरकारले यातायात व्यवस्थापनका लागि यसअघि गर्दै आएको खर्च कोषमा जम्मा हुने प्रणाली विकास गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख एवं परिषद्का उपाध्यक्ष चिरीबाबु महर्जनले यातायात क्षेत्रको व्यवस्थापन गर्ने काममा दोहोरोपना रहेको बताए । उनले प्राधिकरण र परिषद्ले यस्ता दोहोरोपनालाई हटाउनुपर्नेमा जोड दिए।

सङ्घीय राजधानी प्राधिकरणको काम कारबाहीलाई सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि कामपा प्रमुखको अध्यक्षतामा सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् रहने व्यवस्था छ । ललितपुर महानगरपालिकाका प्रमुख परिषद्को उपाध्यक्ष र भक्तपुर नगरपालिकाका प्रमुख परिषद्को सदस्य रहने व्यवस्था छ ।

प्राधिकरणको काम कर्तव्य र अधिकार

सार्वजनिक यातायातसम्बन्धी नीति, अल्पकालीन, दीर्घकालीन योजना र रणनीति तयार पार्ने, यात्रुमैत्री सार्वजनिक यातायातको सञ्चालन, व्यवस्थापन गर्ने, सूचना प्रविधिमा आधारित नगदविहीन (क्यासलेस) एकीकृत यातायात प्रणाली विकास गर्ने, वास्तविक समयमा आधारित सूचना प्रणाली विकास गर्ने तथा विकास गरिएका प्रणाली कार्यान्वयनमा ल्याउनु प्राधिकरणका मुख्य काम हुन् ।

बस बिसौनी, बिसौनीमा सार्वजनिक शौचालय निर्माण र सञ्चालन, पैदलयात्री, अपाङ्गता भएका व्यक्ति, साइकलयात्रीमैत्री सडक व्यवस्थापन प्राधिकरणका मुख्य काम हुन् ।

सार्वजनिक यातायातसँग सम्बन्धित विवरण सङ्कलन, अभिलेखन, अद्यावधिक र गुणात्मक उपयोग गर्ने, आवास क्षेत्र, व्यापारिक केन्द्र वा सपिङ मलमा यातायात सेवा उपलब्ध गराएवापत सेवा शुल्क तोक्ने, रुट निर्धारण गर्ने, निर्धारण गरिएका रुटमा एकतर्फी, दोहोरो सञ्चालन, तोकिएका सवारीसाधनलाई पूर्ण वा आंशिक निषेध गर्नेलगायत काम प्राधिकरणका मुख्य जिम्मेवारी हुन् ।

मिड सोलु हाइड्रोपावरको आइपीओ खुल्यो Read Previous

मिड सोलु हाइड्रोपावरको आइपीओ खुल्यो

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक Read Next

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक