काठमाडौं । धादिङको गल्छी गाउँपालिका-८ गल्छीका स्थानीयवासीले गल्छी-त्रिशूली सडकखण्ड बन्द गराएका छन् ।
हिजो बेलुका गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या भएपछि स्थानीयले रातिदेखिनै सो सडकखण्ड बन्द गराएका हुन् ।
बुधबार बेलुका खाजा खान गएका गल्छी-८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका हुन् ।
आरोपितलाई रातिनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित थिङले जानकारी दिए ।
खाजा खाएपछि होटल सञ्चालकसित पैसा तिर्नेबेला भनाभन भएको बताइएको छ । खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिनेक्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ । घटनापछि पण्डित फारर भएका थिए । घाइते थापामगरको उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले पण्डित, उनकी आमा सरस्वतीसहित छ जनालाई पक्राउ गरेको छ । ‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक थिङले भने ।