यौन दुर्व्यवहार मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर, ६६ करोड क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं । न्यूयोर्कको एउटा जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको र त्यसबारे झुटो बोलेर उनलाई बदनाम गरेको ठहर गरेको छ।

दुई हप्ता लामो सुनुवाइपछि करिब ३ घण्टा बहस गरेर जुरीले क्यारोललाई ५० लाख डलर (करिब ६६ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको छ।

उनले लगाएको बलात्कारको गम्भीर आरोप भने अस्वीकार गरिएको थियो।ती लेखिकाले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको बताएकी थिइन्।

ट्रम्पले उनलाई ठगीको आरोप लगाएका थिए। क्यारोलले उक्त आदेश आफ्नो कुरा विश्वास नगरिएकाले पीडा खेपेका प्रत्येक महिलाका लागि जित भएको बताएकी छन्।

ट्रम्पले जुरीको उक्त निर्णयलाई अपमानका रूपमा व्याख्या गरेका छन् र उनका प्रवक्ताले ट्रम्पले पुनरावेदन गर्ने जनाएका छन्। उक्त मुद्दाले आगामी राष्ट्रपति चुनावमा फेरि प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा गम्भीर प्रभाव पार्नसक्ने बताएका छन्।

दुई हप्ते सुनुवाइमा ट्रम्प स्वयं भने उपस्थित भएका थिएनन् तर उनको धारणा जुरी समक्ष सुनाइएको थियो।आदेशपछि लिखित वक्तव्यमा क्यारोलले भनेकी छन्, ‘आज विश्वले वास्तविकता थाहा पाएको छ। यो मेरो मात्रै नभएर आफूलाई विश्वास नगरिएका कारण पीडा खेपेका प्रत्येक महिलाको जित हो।’

फौजदारी नभई देवानी अदालतमा सुनुवाइ गरिएकाले ट्रम्पलाई यौन दुर्व्यवहारकर्ताका रूपमा अभिलेखकृत गर्नुपर्ने छैन।पूर्व राष्ट्रपतिले क्यारोलको आरोपहरू अस्वीकार गर्दै आएका छन्। ७९ वर्षकी क्यारोलले आदेश सुनिरहँदा आफ्ना दुवै वकिलहरूको हात समाएकी थिइन् र क्षतिपूर्ति दिने निर्णय सुनाइँदा मुस्कुराएकी थिइन्।

ट्रम्पका वकिल जो टोकोपिनाले सुनुवाइ सकिएपछि हात मिलाउँदै उनलाई ‘बधाई र शुभकामना’ भनेका थिए।जुरीको निर्णयपछि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसिअलमा ट्रम्पले लेखेका छन्, ‘ती महिला को हुन् मलाई केही थाहा छैन।’

यो ट्रम्पले सामना गरिरहेको कैयौँ मुद्दाहरूमध्ये एक हो। एक जना वयस्क चलचित्र अभिनेत्रीलाई चुपचाप रहन रकम दिएको, अमेरिकी संसद् भवनमा दंगा फैलाउन भूमिका खेलेको र सन् २०२० को चुनाव आफ्नो पक्षमा पार्न लागिपरेको जस्ता अन्य आरोपहरू पनि ट्रम्पले सामना गरिरहेका छन्।

क्यारोलको कानुनी टोलीले ट्रम्पले उनलाई एउटा विलासी स्टोरको भित्री वस्त्रहरू खरिद गर्ने क्षेत्रमा सन् १९९५ वा १९९६ मा दुर्व्यवहार गरेको दाबी पुष्टि गर्न ११ जना प्रत्यक्षदर्शीहरू उपस्थित गराएको थियो।

त्यसमा दुई जना महिला पनि थिए जसले ट्रम्पले आफूलाई वर्षौँअघि यौन दुर्व्यवहार गरेको बताएकी थिइन्। एक जना महिलाले सन् १९७० को दशकमा उडानका समयमा ट्रम्पले आफ्नो इच्छा विपरीत स्पर्श गरेको बताएकी थिइन्।

अर्कीले सन् २००५ मा एउटा लेखका लागि अन्तरवार्ता लिने क्रममा ट्रम्पले जबरजस्ती ढङ्गले आफूलाई चुम्बन गरेको बताएकी थिइन्।क्यारोलका दुई जना पुराना साथीहरूले उक्त घटना भए लगत्तै उनीहरूलाई उनले त्यसबारे बताएको जनाएका थिए। -बीबीसी

 

आगामी ५ वर्षलाई लगानी वर्ष घोषणा गर्न परिसंघको आग्रह Read Previous

आगामी ५ वर्षलाई लगानी वर्ष घोषणा गर्न परिसंघको आग्रह

जेठमा कर्जाको ब्याजदर घट्ने, बैंकर भन्छन्-'ब्याजदर ८% मै झारे पनि ऋणको माग बढ्ने देखिँदैन’ Read Next

जेठमा कर्जाको ब्याजदर घट्ने, बैंकर भन्छन्-'ब्याजदर ८% मै झारे पनि ऋणको माग बढ्ने देखिँदैन’