काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित नेकपा एमालेबाट मन्त्री बनेका नेताहरूले राजीनामा दिएका छन् ।
सोमबार अपराह्न उपप्रधानमन्त्री पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरू बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
राजीनामा दिने मन्त्रीहरुमा अर्थमन्त्री पौडेलसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, कृषि मन्त्री ज्वालाकुमारी शाह, भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी छन् ।
सोमबार दिउँसो बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।