काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रीको दिन (फागुन ६ गते) काठमाडौंका विभिन्न रुटमा गाडी चलाउन रोक लगाएको छ । महाशाखाले शनिबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो ।
महाशाखाले आज एक सूचना जारी गर्दै पशुपति क्षेत्रमा पूजाआज गर्ने आवत जावत गर्नेको भीडलाई मध्येनजर गर्दै सवारी आवागमनको रुट समेत निर्धारण गरेको हो ।पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।
प्रहरी तय गरेको रुट अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुल हुँदै गौशाला, तिलगंगा हुँदै गौशालातर्फ जाने सवारीलाई प्रवेश निधेष गरेको छ।
गौशाला क्षेत्रतर्फ जाने सवारी साधनहरुलाई चावहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने छ ।
यसैगरी, पशुपतिमा आउने दर्शनार्थीको सहजताका लागि महाशाखाले सिफल चौर, गुह्येश्वरी पारी, पशुपति विकास कोषको कार्यालय, भण्डारखाल, तिलगंगा आँखा अस्पताल अगाडि र वनकाली क्षेत्रमा पार्किङको व्यवस्था गरेको छ ।