आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणामको प्रतिवेदन, नयाँ सरकार गठनको बाटो खुल्यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताइन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उनले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिइन् ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा आमनिर्वाचन सम्पन्न भएको बताए। यस निर्वाचनबाट प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० गरी ८२५ जना निर्वाचित भएको उनले जानकारी गराए । प्रतिनिधिसभामा ३३.१० प्रतिशत र प्रदेशसभामा ३६.३६ प्रतिशत महिला सहभागिता भएको उनको भनाइ छ ।

आयोगले आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने जनाएको छ ।

ओरेन्टल सहकारीले बचतकर्तालाई १० अर्ब फिर्ता गर्नुपर्ने, प्रमाणसहित निवेदन दिने समय थप Read Previous

ओरेन्टल सहकारीले बचतकर्तालाई १० अर्ब फिर्ता गर्नुपर्ने, प्रमाणसहित निवेदन दिने समय थप

नेप्सेमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा भने पाजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा भने पाजेटिभ सर्किट