काठमाडौं । प्रहरीले आफ्नो ज्यानका साथै विद्यार्थी एवं यात्रुको समेत जीउ ज्यानलाई जोखिममा पारेर मापसे (मादक पदार्थ सेवान) र लापसे (लागू पदार्थ सेवन) गरेर सवारीसाधान चलाउने चालकलाई कारबाही मात्रै होइन अब मुद्दा चलाउन थालेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा सवारीसाधन जाँच अभियानका क्रममा स्कुलका बस चलाउने चालकले मापसे र लापसे गरेको फेला परेपछि त्यसविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।
‘लागुऔषध र मापद पदार्थ खाएर सवारी चलाउनु यात्रुको जीउ ज्यानमा खेलवाड गर्नु हो । त्यसैले त्यसरी सवारी चलाउने चालकलाई मुद्दा नै चलाउन थालिएको छ,’ उनले भने ।
केही अघि मात्रै काठमाडौँको फर्पिङमा ना १ ज ८४६९ नम्बरको सुमो चालक काभ्रेपलाञ्चोकको पनौतीका ४४ वर्षीय नवराज केसीले मापसे गरेको फेला पर्यो । उनलाई प्रहरीले अभद्र व्यवहार गरेको आरोपसहित मुद्दा चलायो । उनीमाथि कीर्तिपुर प्रहरीले अदालतबाट म्याद थप गरेरै कारबाही प्रक्रिया अघि बढाएको छ ।
आइतबार पनि त्यसैगरी लागुऔषध सेवन गरेर सवारीसाधन चलाएका पाँच चालक फेला परे । उनीहरु विरुद्ध पनि लागुऔषध सेवनको कसुरमा पाँच दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ । लागूऔषध सेवन गरी सवारीसाधन चलाएको फेला परे पनि उनीहरुलाई काठमाडौँको तार्केश्वर नगरपालिका–८ शेषमती पुलबाट नियन्त्रणमा लिइएको थियो ।
यस्ता घटनाहरु पछिल्ला समयमा बढ्दो क्रममा देखिएकाले कडाइका साथ अभियान चालिएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र नेपाल प्रहरी अस्पतालको संयुक्त टोली नै यस अभियानमा खटिने गरेको छ ।
यसरी मुद्दा चलाइएकामा दीपेश सुनुवार, रोशन तामाङ, प्रलाद लामा, मोहन विक र अमित थापा मगर रहेका छन् । उनीहरुलाई किटको प्रयोग गरी पिसाब जाँच गर्दा लागूऔषध सेवन गरेको पाइएको थियो ।
उनीहरुमाथि प्रहरी वृत्त बालाजुले थप अनुसन्धान समेत गरिरहेको छ । मापसे र लागूऔषध सेवन गरी सवारीसाधन चलाउँदा दुर्घटना बढ्ने र यसले जीवन क्षतिको जोखिम पनि हुने भएकाले सम्भावित जोखिम कम गर्न उक्त अभियान थालिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।