काठमाडौं । इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार अस्ट्रेलियाको एडिलिडेमा भएको सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्याण्डले बिना विकेट क्षतिमा भेटायो । इंग्ल्याण्डका लागि ओपनरद्धय एलेक्स हेल्स र जोस बटलरले १७० रनको कीर्तिमानी साझेदारी गरे ।
इंग्ल्याण्डका लागि हेल्सले ४७ बलमा ७ छक्का र ४ चौका हान्दै नटआउट ८६ रन र बटलरले ४९ बलमा ३ छक्का र ९ चौकाको मद्दतमा नटआउट ८० रन बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । भारतका हार्दिक पान्डेयाले ६३ र विराट कोहलीले ५० रन बनाए । बलिङतर्फ क्रिस जोर्डनले ३ विकेट लिए ।
अब इंग्ल्याण्डले फाइनलमा आगामी आइतबार मेलबर्नमा पाकिस्तानसँग भिड्ने छ । यसअघि दुवै देशले एकएक पटक विश्वकपको उपाधि जितिसकेका छन् ।