दशैं यात्रा: व्यावसायी कुस्त कमाउँदै, यात्रु तेब्बरभन्दा बढी भाडा तिर्न बाध्य, राज्य मुकदर्शक

सिन्धुपाल्चोक जिल्ला, इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनामा १४ जनाको दुःखद निधन भएको छ भने ९० जना भन्दा बढी घाइते भएका छन् । ३२ जनाको क्षमता भएको बसमा १२० भन्दा बढी यात्रु कोचेका कारण बस दुर्घटना भएको हो ।

 

सञ्चार माध्यमहरुले यसलाई ‘दुर्घटना’को नाम दिए पनि यो वास्तवमा दुर्घटना होइन । दुर्घटना भन्नासाथ त्यो भवितव्य हुने हुनाले त्यसको जिम्मा प्रकिृतिको थाप्लोमा जान्छ । तर, यो सुनियोजित ‘हत्या’ हो, जसको जिम्मा नेपालको राज्यसत्ता र यातायात व्यवसायीले लिनुपर्छ ।

 

यस्ता ‘दुर्घटना’ हरेक वर्ष चाडबाडको समयमा हुने गरेको छ । र, सञ्चारमाध्यमहरुले यसलाई दुर्घटनाको नाम दिने गरेका छन् र यस प्रति जिम्मेवार हुनुपर्ने निकायहरु कानमा तेल हालेर बस्ने गरेका छन् । त्यसैले सिन्धुपाल्चोकको घटना पनि आफैंमा नयाँ घटनाभन्दा पनि सरोकारवाला निकायहरुको अक्षमताको पछिल्लो कडी हो ।

 

चाडबाड सकिए लगत्तै मानिसहरु आफ्नो जन्मथलोबाट कर्मथलो फर्कने क्रम जारी छ । विशेषतः राजधानीतर्फ आउनेको घुइँचो ज्यादा छ । उपत्यका भित्रिनेको संख्या अत्याधिक हुँदा माथि उल्लेखित घटनाका अलावा अन्य धेरै समस्याहरु देखा परेका छन् । तर, यी सबै समस्याहरु पुरानै समस्याहरुको निरन्तरता मात्र हुन् ।

 

एउटा प्रमुख समस्या भनेको रुटमा चल्ने सवारीहरु सीमित छन् । तर, यात्रु अत्याधिक छन्, जसको कारण पनि सवारीले आफ्नो क्षमता भन्दा अत्याधिक बढी यात्रु बोकेर हिँड्ने गरेका छन् ।

 

नेपालमा धेरै जसो दुर्घटना चाडपर्वको समयमा हुने गरेको तथ्याङ्कले देखाउँछ । सम्बन्धित निकायहरुले चाडपर्वको समयमा यात्रु सहायता कक्ष देखि सवारी नियम तथा बाटोमा थप ट्राफिक नियमन गर्ने सम्मको काम गर्ने गरेका छन् । तर, यात्रुले भोग्नुपर्ने समस्या समाधानका लागि उनीहरुको प्रयास सार्थक हुनसकेको छैन ।

 

बसपार्कमा यात्रुहरु काठमाडौंतर्फ जान सवारी साधन खोजिरहेका थिए ।यातायत व्यवसायीहरु यात्रु भएतर्फ आउँछन् र सोध्छन्, ‘एउटा अन्तिम गाडी छ, जाने हो ? तर, भाडा १ हजार लाग्छ । ’ केही बेर यात्रु र यातायात व्यवसायी (सायद दलाल !) बीच कुराकानी हुन्छ । अन्तिममा ८ सयमा काठमाडाैं जाने कुरा मिल्छ ।

उपत्यकातर्फ फर्कने यात्रुहरुले बढि झमेला र सास्ती भोग्नु परेको छ । सवारी साधनमा सिट नपाउने, अत्याधिक चाप तथा यातायात क्षेत्रमा काम गर्नेहरुको अभद्र व्यवहार सहि नसक्नु खालको हुनेगरेको छ ।

 

यातायात क्षेत्रमा काम गर्नेहरुले यो समयलाई पैसा कमाउने आर्कषक अवसरको रुपमा लिने प्रवृति मौलाउँदै गएको छ ।

 

काठमाडौं फर्किँदाको  एक अनुभव

 

उदाहरणको लागि, सामान्यतः काठमाडाैंदेखि हेटाैंडासम्मको भाडा ४ सय रुँपैयामा पर्छ । ८ सय रुँपैयामा दोहोरो आवतजावत गर्न सकिन्छ । तर, हेटौंडा बसपार्कमा नै खुल्लमखुल्ला १ हजार रुपैयाँमा काठमाडाैं जाने एकतर्फी भाडाको मोलतोल भइरहेको दृश्य सामान्यरुपमै देख्न सकिन्छ ।

 

यस्तो ब्रह्मलुट हुँदा समेत राज्य मुकदर्शक बनेको छ भने नागरिक विवश छन् । यात्रुलाई जसरी पनि आफ्नो गन्तव्यमा पुग्नु छ । वैकल्पिक उपाय नहुँदा यात्रुहरु जति पनि भाडा तिर्न बाध्य हुने गरेका छन् ।

 

हेटौंडा बसपार्कमा एउटा यस्तै दृश्य देखिएको थियो । बसपार्कमा यात्रुहरु काठमाडौंतर्फ जान सवारी साधन खोजिरहेका थिए ।

 

यातायत व्यवसायीहरु यात्रु भएतर्फ आउँछन् र सोध्छन्, ‘एउटा अन्तिम गाडी छ, जाने हो ? तर, भाडा १ हजार लाग्छ । ’
केही बेर यात्रु र यातायात व्यवसायी (सायद दलाल !) बीच कुराकानी हुन्छ । अन्तिममा ८ सयमा काठमाडाैं जाने कुरा मिल्छ ।

 

त्यसमध्येका केही यात्रुले प्रहरीलाई उजुरी पनि गर्छन्, बढी भाडा लिएको भनेर । प्रहरी आउँछ र ‘बढि भाडा लिएको हो ?’ भनेर सोध्छ । सवै यात्रुहरुले नै ‘होइन, ५ सय मात्रै हो’ भनेर जवाफ दिन्छन् । प्रहरी र यातायात व्यवसायी (दलाल) बीच एकान्तमा केही कुराकानी हुन्छ ।

 

यातायात व्यवसायीहरु (दलाल) आएर यात्रुलाई धम्कीको भाषामा भन्छन्, ‘यदि तपाईंहरुलाई भाडा महँगो लागेमा नजानुस् । भाडा बढी लियो भनेर पुलिसलाई कसैले भनेमा ठीक हुनेछैन ।’

 

त्यसपछि सबैजना ४ सय रुपैयाँको टिकट ८ सय रुपैयाँमा किनेर र बसको क्षमताभन्दा बढी कोचिएर काठमाडौं आउन बाध्य भए ।

 

मेरो आँखा भने राज्यलाई खोजेर धेरैबेरसम्म टोलाइरहे । र, मनमा एउटा प्रश्न उठ्यो, ‘आखिर हामी नागरिक पनि एकदिन कुरेर काठमाडाैं फर्कन तयार हुन वा प्रहरीलाई उजुरी दिएर सम्बन्धित यातायात व्यवसायीहरुलाई कारवाही गर्ने वातावरण बनाउन किन डराउछौँ ?’

नेपाली क्रिकेट टिमको कप्तानबाट  राजीनामा दिने पारसको घोषणा Read Previous

नेपाली क्रिकेट टिमको कप्तानबाट राजीनामा दिने पारसको घोषणा

रुग्ण आयोजनाबाट मुक्ति पाउँदै प्राधिकरण Read Next

रुग्ण आयोजनाबाट मुक्ति पाउँदै प्राधिकरण