सिन्धुपाल्चोक जिल्ला, इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनामा १४ जनाको दुःखद निधन भएको छ भने ९० जना भन्दा बढी घाइते भएका छन् । ३२ जनाको क्षमता भएको बसमा १२० भन्दा बढी यात्रु कोचेका कारण बस दुर्घटना भएको हो ।
सञ्चार माध्यमहरुले यसलाई ‘दुर्घटना’को नाम दिए पनि यो वास्तवमा दुर्घटना होइन । दुर्घटना भन्नासाथ त्यो भवितव्य हुने हुनाले त्यसको जिम्मा प्रकिृतिको थाप्लोमा जान्छ । तर, यो सुनियोजित ‘हत्या’ हो, जसको जिम्मा नेपालको राज्यसत्ता र यातायात व्यवसायीले लिनुपर्छ ।
यस्ता ‘दुर्घटना’ हरेक वर्ष चाडबाडको समयमा हुने गरेको छ । र, सञ्चारमाध्यमहरुले यसलाई दुर्घटनाको नाम दिने गरेका छन् र यस प्रति जिम्मेवार हुनुपर्ने निकायहरु कानमा तेल हालेर बस्ने गरेका छन् । त्यसैले सिन्धुपाल्चोकको घटना पनि आफैंमा नयाँ घटनाभन्दा पनि सरोकारवाला निकायहरुको अक्षमताको पछिल्लो कडी हो ।
चाडबाड सकिए लगत्तै मानिसहरु आफ्नो जन्मथलोबाट कर्मथलो फर्कने क्रम जारी छ । विशेषतः राजधानीतर्फ आउनेको घुइँचो ज्यादा छ । उपत्यका भित्रिनेको संख्या अत्याधिक हुँदा माथि उल्लेखित घटनाका अलावा अन्य धेरै समस्याहरु देखा परेका छन् । तर, यी सबै समस्याहरु पुरानै समस्याहरुको निरन्तरता मात्र हुन् ।
एउटा प्रमुख समस्या भनेको रुटमा चल्ने सवारीहरु सीमित छन् । तर, यात्रु अत्याधिक छन्, जसको कारण पनि सवारीले आफ्नो क्षमता भन्दा अत्याधिक बढी यात्रु बोकेर हिँड्ने गरेका छन् ।
नेपालमा धेरै जसो दुर्घटना चाडपर्वको समयमा हुने गरेको तथ्याङ्कले देखाउँछ । सम्बन्धित निकायहरुले चाडपर्वको समयमा यात्रु सहायता कक्ष देखि सवारी नियम तथा बाटोमा थप ट्राफिक नियमन गर्ने सम्मको काम गर्ने गरेका छन् । तर, यात्रुले भोग्नुपर्ने समस्या समाधानका लागि उनीहरुको प्रयास सार्थक हुनसकेको छैन ।
बसपार्कमा यात्रुहरु काठमाडौंतर्फ जान सवारी साधन खोजिरहेका थिए ।यातायत व्यवसायीहरु यात्रु भएतर्फ आउँछन् र सोध्छन्, ‘एउटा अन्तिम गाडी छ, जाने हो ? तर, भाडा १ हजार लाग्छ । ’ केही बेर यात्रु र यातायात व्यवसायी (सायद दलाल !) बीच कुराकानी हुन्छ । अन्तिममा ८ सयमा काठमाडाैं जाने कुरा मिल्छ ।
उपत्यकातर्फ फर्कने यात्रुहरुले बढि झमेला र सास्ती भोग्नु परेको छ । सवारी साधनमा सिट नपाउने, अत्याधिक चाप तथा यातायात क्षेत्रमा काम गर्नेहरुको अभद्र व्यवहार सहि नसक्नु खालको हुनेगरेको छ ।
यातायात क्षेत्रमा काम गर्नेहरुले यो समयलाई पैसा कमाउने आर्कषक अवसरको रुपमा लिने प्रवृति मौलाउँदै गएको छ ।
काठमाडौं फर्किँदाको एक अनुभव
उदाहरणको लागि, सामान्यतः काठमाडाैंदेखि हेटाैंडासम्मको भाडा ४ सय रुँपैयामा पर्छ । ८ सय रुँपैयामा दोहोरो आवतजावत गर्न सकिन्छ । तर, हेटौंडा बसपार्कमा नै खुल्लमखुल्ला १ हजार रुपैयाँमा काठमाडाैं जाने एकतर्फी भाडाको मोलतोल भइरहेको दृश्य सामान्यरुपमै देख्न सकिन्छ ।
यस्तो ब्रह्मलुट हुँदा समेत राज्य मुकदर्शक बनेको छ भने नागरिक विवश छन् । यात्रुलाई जसरी पनि आफ्नो गन्तव्यमा पुग्नु छ । वैकल्पिक उपाय नहुँदा यात्रुहरु जति पनि भाडा तिर्न बाध्य हुने गरेका छन् ।
हेटौंडा बसपार्कमा एउटा यस्तै दृश्य देखिएको थियो । बसपार्कमा यात्रुहरु काठमाडौंतर्फ जान सवारी साधन खोजिरहेका थिए ।
यातायत व्यवसायीहरु यात्रु भएतर्फ आउँछन् र सोध्छन्, ‘एउटा अन्तिम गाडी छ, जाने हो ? तर, भाडा १ हजार लाग्छ । ’
केही बेर यात्रु र यातायात व्यवसायी (सायद दलाल !) बीच कुराकानी हुन्छ । अन्तिममा ८ सयमा काठमाडाैं जाने कुरा मिल्छ ।
त्यसमध्येका केही यात्रुले प्रहरीलाई उजुरी पनि गर्छन्, बढी भाडा लिएको भनेर । प्रहरी आउँछ र ‘बढि भाडा लिएको हो ?’ भनेर सोध्छ । सवै यात्रुहरुले नै ‘होइन, ५ सय मात्रै हो’ भनेर जवाफ दिन्छन् । प्रहरी र यातायात व्यवसायी (दलाल) बीच एकान्तमा केही कुराकानी हुन्छ ।
यातायात व्यवसायीहरु (दलाल) आएर यात्रुलाई धम्कीको भाषामा भन्छन्, ‘यदि तपाईंहरुलाई भाडा महँगो लागेमा नजानुस् । भाडा बढी लियो भनेर पुलिसलाई कसैले भनेमा ठीक हुनेछैन ।’
त्यसपछि सबैजना ४ सय रुपैयाँको टिकट ८ सय रुपैयाँमा किनेर र बसको क्षमताभन्दा बढी कोचिएर काठमाडौं आउन बाध्य भए ।
मेरो आँखा भने राज्यलाई खोजेर धेरैबेरसम्म टोलाइरहे । र, मनमा एउटा प्रश्न उठ्यो, ‘आखिर हामी नागरिक पनि एकदिन कुरेर काठमाडाैं फर्कन तयार हुन वा प्रहरीलाई उजुरी दिएर सम्बन्धित यातायात व्यवसायीहरुलाई कारवाही गर्ने वातावरण बनाउन किन डराउछौँ ?’