व्यवस्थापन गर्ने कम्पनीले नै थुपार्यो पैदलमार्गमै फोहर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ)मा थुपार्ने गरेको छ ।
काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो ।

गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिनुभएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको बताउछन्।

फोहरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । “बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ”, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दैआएका रामचन्द्र श्रेष्ठ बताउछन् ।

राजधानीको अन्य भागमा फोहर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहर थुपार्ने गरेको उनले बताए । महानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ ।

महानगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहर एकै ठाउँमा राखेर फालेको देखिन्छ ।

महानगरपालिकाले सूचना जारी गरेपनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।

अस्थिर कर नीतिः उपभोक्ता र स्वदेशी उद्योग मारमा, व्यवसायी भन्छन्,‘सुसाइट नोट लेख्ने दिन आयो’ Read Previous

अस्थिर कर नीतिः उपभोक्ता र स्वदेशी उद्योग मारमा, व्यवसायी भन्छन्,‘सुसाइट नोट लेख्ने दिन आयो’

चेरी टिग्गो ७ प्रो नेपालमा लन्च, कति पर्छ मुल्य ? Read Next

चेरी टिग्गो ७ प्रो नेपालमा लन्च, कति पर्छ मुल्य ?