काठमाडौं । दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आज (असोज ५ गते) बाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ ।यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रीम टिकट बुकिङ खुल्ला गरेका हुन् ।
लामो दूरीको यात्राका लागि आजबाट टिकट बुकिङ खुला भए पनि नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएपछि टिकट काउन्टरहरुमा दशैंमा घर जाने यात्रुहरूको भीड लागेको छ । एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन छ । विगतका वर्ष झैं यो दशैंमा पनि करिब ३० देखि ३५ लाखले व्यक्तिले काठमाडौं छाड्ने अनुमान गरिएको छ ।
कहाँ–कहाँबाट पाइन्छ टिकट ?
यात्रुहरुले उपत्यकाका कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेल लगायतका स्थानका टिकट काउन्टरबाट बसको टिकट बुकिङ गर्न सक्नेछन् ।
सरकारले यात्रुको सहजताका लागि विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । यस्ता सहायता कक्षले समस्यामा पर्ने यात्रुलाई सहजीकरणको काम गर्नेछ ।
बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले यातायात व्यवस्था विभाग वा ट्राफिक प्रहरीमा उजुरी गर्नसक्ने व्यवस्था गरिएको छ ।