इलामको चिया बगान : न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले

इलाम । राधा दर्जीले चियाको बोट सुम्सुम्याएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत छिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् ।

 

पिठ्यूँमा डोको र थाप्लोमा डोको अड्याउन प्रयोग भएको नाम्लो भिरेकी दर्जीका हात चियाका मुन्टा टिप्नमा नै व्यस्त हुन्छन् । पर्यटक आउँछन् र केही सोध्छन् । आँखा पर्यटकतिर गए पनि हातले काम बिसाउने फुर्सद हुँदैन दर्जीमा । २०४१ सालबाट चिया बगानमा कार्यरत दर्जीलाई न शनिबार लाग्छ न सार्वजनिक बिदाले छुन्छ । “के गर्नु बाँच्नका लागि केही त गर्नै पर्दो रहेछ”, दर्जीले भनिन् ।

 

बिहानको झिसमिसेबाट चिया कमानमा आउनु हुने दर्जी बेलुका आँखाले भ्याएसम्म कन्याम चिया बगानमा नै चिया टिप्न व्यस्त हुनछिन्, यतिबेला । सँगै काम गर्ने खिना बस्नेतको पनि दैनिकी उसै गरी बित्छ । बस्नेतले चिया बगानमा काम गरेको पाँच वर्ष बित्यो । बिहान उठेदेखि घरको सामान्य काम गरेर बगानमा आउने उनीहरु अबेलासम्म नै काम गर्नुहुन्छ ।

 

खिना र राधाजस्ता ६१ जना कन्याम चिया बगानमा काम गर्ने मजदूरको दैनिकी प्रायः उस्तै गरी बित्छ । चिया टिप्ने, टिपेको चिया कारखानासम्म पुर्याउने र चिया टिप्ने मजदूरलाई निरीक्षण गर्नेसम्मका काम पर्छन्, उनीहरुको ।

 

मजदूरको हाजिरी उठाउने, उठाएको हाजिरी र टिपेको चियाको विवरण बडाहाकिमसम्म पुर्याउने काम बगानमा कार्यरत मजदूर स्वयंले नै गर्ने गर्छन् । ती सबै काम फरक फरक मजदूरलाई गर्नुपर्दछ । अर्थात् सबै मजदूरको आ–आफ्नै जिम्मेवारी छ चियाबगानभित्र ।

 

खान लाउन र छोराछोरी पढाउन यसै कमाइले मात्र सम्भव नभएको मजदूर बस्नेतले बताइन् । उनका अनुसार परिवारका अन्य सदस्यले अन्य काम गर्छन् । मजदूरले चिया टिप्ने र उनीहरुकोे निगरानी गर्ने जिम्मा मजदूरभित्रकै नाइकेलाई दिइएको छ । नाइकेले चिया टिप्नु पर्दैन, उनको संवाद सोझै कारखानाका छोटा हाकिमदेखि बडाहाकिमसम्म हुन्छ ।

 

उनीहरु बिहानैदेखि बेलुका अबेरसम्म चिया बगानमा नै भेट्टिन्छन् । बिहान चाँडैदेखि बेलुका अबेरसम्म चिया बगानमा काम गर्नुको कारण दैनिक १८ किलो चिया टिप्नुपर्ने बाध्यता हो । मजदूरले दैनिक १८ किलो हरियो चिया नटिपे कारवाही हुन्छ । बढी टिपे पुरस्कारको व्यवस्था छ ।

 

दैनिक १८ किलो चिया टिप्ने मजदूरले दैनिक ३८५ रुपैयाँ पाउने प्रावधान छ । यदि १८ किलोभन्दा माथि चिया टिपे प्रतिकिलो आठ रुपैयाँका दरले पारिश्रमिक बढ्छ तर दैनिक १८ किलो चिया नपिटे दैनिक ज्यालामा उसैगरी दैनिक नै प्रतिकिलो आठका दरले घट्दै जान्छ ।

 

यो ज्याला कन्याम चिया बगानमा कार्यरत मजदूरको मात्र नभएर इलाम र झापाका सरकारी सात वटा चिया बगानमा कार्यरत मजदूरको हो । काममा नआए दैनिक हाजिरी नहुने र ज्याला नपाउने गरेको मजदूरको भनाइ छ ।

 

निजी चिया बगानमा भने फरक फरक मूल्य छ । निजी चिया बगानका मजदूरसँग सम्झौता गरेर आफुखुशी मूल्य निर्धारण गरिएको छ तर सूर्योदय नगरपालिकाभित्रका चिया बगानले भने मूल्य सामूहिकरुपमा नै निर्धारण गरेका छन् ।

 

सूर्योदय नगरपालिकाभित्रका निजी चिया कारखानाको छाता सङ्गठन सूर्योदय टि एशोसिएशन प्रालिमा दर्ता भएका ५३ वटा चिया कारखानाले सरकारले तोकेकै रेटमा मजदूरलाई भुक्तानी दिइरहेका छन् तर जिल्लाका अन्य कारखाना तथा चिया बगानका मालिकले मजदूरलाई चित्त बुझाएर काम लगाएका छन् ।

 

चिया बगानअनुसार घटी र बढी चिया टिप्न सकिन्छ । बढी चिया पलाउने ठाउँमा हँसिया र कैँचीले पनि चिया टिप्ने गरिन्छ । हँसिया र कैचीले चिया टिपे पुनः ज्याला घट्ने गरेको छ । अर्थात् हाँसिया र कैचीको प्रयोग गरे दैनिक १० किलो बढी चिया टिपे मात्र न्यूनतम रु ३८५ ज्याला कायम हुने गरेको छ । हँसिया र कैचीको प्रयोग गरेर चिया टिपे दैनिक २८ किलो चिया टिप्नुपर्ने हुन्छ ।

 

सरकारी चिया बगानका मजदूरको ज्याला उनीहरुको आन्दोलनका कारण बढेको हो । मजदूरले यसै सिजनको शुरुमा ५० दिन आन्दोलन गरेर यो ज्याला कायम गराएको हो । त्यसअघि उनीहरुले दैनिक २६५ रुपैयाँमा काम गर्दै आएका थिए ।

 

हाल ज्यालामा सन्तुष्ट मजदूरले आन्दोलन गरेर नै यो उपलब्धि हात पारेको बताएका छन् । पटक पटक भएको सम्झौता भने कार्यान्वयन नहुने गरेको भन्दै चिन्ता भने छ, उनीहरुमा ।

 

हाल उनीहरुले बढेकै ज्याला पाउन थालेका छन् तर आन्दोलन पछि भएको सम्झौतामा भने गएको वर्षअर्थात् ०७४ साल साउन शुरुबाट नै हाल कायम भएको ज्याला लिने/दिने सम्झौता भएको छ तर गएको वर्षको ज्याला कारखानाबाट तीन किस्ता गरेर दिने सम्झौतापत्रमा उल्लेख छ ।

 

मजदूरले सो बेला पाउने दैनिक २६५ रुपैयाँ भने पाएका छन् तर सोभन्दा माथि दैनिक ३८५ रुपैयाँ भएपछि बढेको पैसा भने कारखानाबाट लिन बाँकी रहेको मजदूरको भनाइ छ । बढेको ज्याला कार्यान्वयन हुन्छ या हुँदैन भन्ने चिन्ता भने उनीहरुमा अझै पनि छ । “तीन किस्ता गरेर दिने भनेको ज्याला अझै पाइएको छैन, दशैँ आउनै लाग्यो”, चिया मजदूर खिना बस्नेतले भने ।

 

चियाको टिपाइ चैत अन्तिमदेखि कात्तिक अन्तिमसम्म हुने गरेको छ । यहाँ कार्यरत मजदूरले भने १२ महीनानै काम गर्नुपर्दछ । चिया पलाउन छोडेपछि चिया छाँटकाँट गर्ने, चिया गोडमेल गर्ने, मल लगाउने, काटिएका चियाका झिक्रा पन्छाउनेलगायतका काम यही कार्यरत मजदूरले हिउँदका समयमा गर्नुपर्ने हुन्छ । उनीहरुले सो बेला निश्चित ज्याला (३८५) मा काम गर्नुपर्ने हुन्छ । सो बेला थप काम गर्नु नपर्ने भएकाले थप रकमसमेत नपाइने गरेको मजदूरको भनाइ छ ।

 

सरकारी चिया बगान सङ्घाइ ग्रुपले लिजमा लिएको छ । ५० वर्षका लागि लिजमा लिएको सो ग्रुपले नै मजदूरलाई काम लगाइरहेको छ । २०५१ सालबाट कन्याम चिया बगानमा नै कार्यरत मजदूर भेषकुमारी राईले दुई वर्ष पछिदेखि नाइकेको जिम्मेवारी पाउनुभएको छ । नाइके राईका अनुसार चिया बगानमा कार्यरत मजदूरले मुख्य सिजनमा दैनिक ३५ किलोदेखि १०० किलोसम्म चिया टिप्ने गरेका छन् ।

 

उनका अनुसार मजदूरले हाल पनि २० देखि ५० किलोसम्म दैनिक चिया टिपिरहेका छन् । हाल कन्याम चिया बगानमा ६१ मजदूरले काम गरिरहेका छन् । इलाममा कन्याम, इलाम, चिलिमकोट र सोक्तिम चिया बगान सरकारी हुन् । झापाका बाह्दशी, टोक्ला र बर्ने चिया कमान गरेर नेपालमा सातवटा सरकारी चिया बगान छन् । रासस

कर्मचारी सञ्चय कोषमा ६ लाख संचयकर्ताको ३ खर्ब ९ अर्ब मौज्दात Read Previous

कर्मचारी सञ्चय कोषमा ६ लाख संचयकर्ताको ३ खर्ब ९ अर्ब मौज्दात

अमेरिकी प्रतिबन्धपछि हुवावे झनै बलियो, नयाँ प्रविधि विकास गर्न ६५ अर्ब डलर खर्च Read Next

अमेरिकी प्रतिबन्धपछि हुवावे झनै बलियो, नयाँ प्रविधि विकास गर्न ६५ अर्ब डलर खर्च