काठमाडौं । निर्वाचन आयोले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ।
निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर आचारसंहिता राजपत्रमा प्रकाशित गरेको हो ।
आचारसंहिताको परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने आचारसंहिता तय गरिएको छ।त्यहाँ जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरणका रुपमा गर्न हुने र नहुने विषय स्पष्ट पारिएको छ।
निर्वाचनमा बढ्दो खर्च नियन्त्रण गर्न भड्किलो प्रचारशैलीलाई रोक लगाइएको छ। सार्वजनिक स्थान तथा कसैको निजी घरमा अनुमति नलिइ प्रचार सामग्री टाँस्न समेत नपाइने भएको छ।
त्यस्तै उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ। यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दाबेदार छन् ।
पदमा बसेर चुनाव लड्दा सरकारी स्रोतको दुरुपयोग गर्न सक्ने भन्दै निर्वाचन आयोगले नयाँ आचारसंहितामा यस्तो प्रावधान राखेको बताएको छ ।
राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्दा राजनीतिक दलको लागि आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणाली बमोजिम बन्दसूचीका उम्मेदवारको संख्याको आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्नु पर्नेछ।
राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिनुपर्ने छ । उम्मेदवार भएको सम्बन्धित क्षेत्रमा चुनावी प्रयोजनका लागि दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन प्रयोग गर्न पाइनेछ ।
त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा भने ४ वटा घोडा प्रयोग गर्न सक्ने आयोगले जनाएको छ ।