काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा होलीका दिन विशेष सुरक्षा योजना लागू गर्ने भएको छ । होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउन उक्त योजना लागू गर्ने भएको हो ।
महाशाखाका अनुसार होलीका दिन ३ हजार ५०० भन्दा बढी प्रहरी र १ हजार ३०० ट्राफिक प्रहरी परिचालन गर्ने योजना रहेको छ ।काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न महाशाखाको भनाइ छ ।
उक्त योजना अन्तर्गत राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा ट्राफिक सुरक्षा जाँच कडा पारिने जनाएको छ। मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तीव्र गतिमा चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाउने र ठूलो आवाज निकालेर मोटरसाइकल कुदाउनेलाई कारवाही गर्न विशेष जाँचको व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।
जसको लागि महाशाखाले ६८ ठाउँमा चेक प्वाइन्ट राख्नेछ। त्यहाँ मापसेदेखि सवारीको कागजपत्रलगायत चेक गरिनेछ। बिहानैदेखि मादक पदार्थ सेवन चेकिङ हुनेछ । त्यस्तै, मोटरसाइकलमा दुई जना भन्दा बढी मानिस बोकेर हिँड्नेलाई पनि प्रहरीको निशानामा पर्नेछन्।
गत वर्ष होली पर्वको बेला मात्र काठमाडौं उपत्यकामा ४७ सवारी दुर्घटनामा परेका थिए । गत वर्षको होलीमा होहल्ला गर्ने, उच्छृङ्खल गतिविधि गर्ने १९८ जनालाई नियन्त्रण लिइएको थियो । यो वर्ष त्यस्ता गतिविधि थप बढ्ने सक्नेतर्फ सचेत हुँदै सोही आधारमा सुरक्षा योजना तयार पारिएको छ ।