राजधानीका मिठाई पसलमा छड्के जाँच

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका तीन मिठाई पसलमा छड्के जाँच गरेका छन् ।

 

कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री रामकुमारी चौधरी र विभागकी महानिर्देशक मतिना वैद्य नेतृत्वको संयुक्त टोलीले तीन मिठाई पसलमा अनुगमन गरेको हो ।

 

टोलीले त्रिपुरेश्वरमा रहेको पशुपती फुड्स तथा साजन गोठ र सुन्धारामा सालिमार हस्पिटालिटी एण्ड फुड्स प्रालिद्धारा सञ्चालित गुवाफमा अनुगमन गरिएको हो ।अनुगमनका क्रममा थुप्रै मिति नभएका, मिति नाघेका, सरसफाइमा लापरवाही गरिएका खाद्य पदार्थ नष्ट गरिएको छ ।

 

अनुगमन पछि कृषि राज्यमन्त्री चौधरीले व्यवस्थापकीय कमजोरी पाइएको बताइन् । उपभोक्तालाई गुणस्तरिय खाना खुवाउने व्यवसायीहरुको पनि कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिने बताइन् । उनले मिठाई पसल मात्र नभई सबै खाद्य पदार्थमा अनुगमन र नियमन गरिरहेको जानकारी दिइन ।

 

उनले उपभोक्ता र व्यवसायीका लागि अनुज्ञापत्र लिएर काम गर्दा राम्रो हुने सुझाव दिइन । राज्यमन्त्री चौधरीले एक हप्ता भित्र सुधार गर्न सबै पसल सञ्चालकलाई निर्देशन दिएकी हुन् ।

 

विभागकी महानिर्देशक वैद्यले सरसफाइ र गुणास्तरियता कायम गर्न नसकेको भन्दै विभागमा उपस्थित हुन निर्देशन दिएको बताइन । टोलीले परीक्षणका लागि १४ प्रकारका खाद्य पदार्थ लिएको जनाएको छ ।

 

विश्लषण नमूना सार्वजनिक भएपछि खाद्य ऐन अनुसार नभएको पाइएमा सरकारी वकिलमार्फत मुद्दा चलाइने विभागले जनाएको छ ।

दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिक, ११५० घरधुरी प्रभावित हुने Read Previous

दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिक, ११५० घरधुरी प्रभावित हुने

अर्थमन्त्रीद्धारा बाफियासहित ४ विधेयक संसदमा पेश Read Next

अर्थमन्त्रीद्धारा बाफियासहित ४ विधेयक संसदमा पेश