काठमाडौं । काठमाडौं महानगरपालिका दशेकै सबैभन्दा जेठो महानगर हो । संघीय राजधानी समेत रहेकाले यो सधैं देशको केन्द्र विन्दुमा रहेको छ । यहाँका हरेक विकास र व्यवस्थापन अरुका लागि पनि नमूना बन्नुपर्ने हो ।
तर, बिडम्वना काठमाडौं महानगरको व्यवस्थापकीय क्षमता अन्य महानगरकोभन्दा पनि कमजोर र दयनीय रहेको छ । काठमाडौं महानगर भित्र पार्किङ, फोहोर व्यवस्थापन, खानेपानी, ढल, फूटपाथ, सडक लगायतको अवस्था अत्यन्तै नाजुक रहेको छ ।
कहिले झरी/वर्षा, कहिले कर्मचारी आन्दोलन, कहिले स्थानीयको आन्दोलन लगायत बाहानामा फोहर सडकमा थुप्रिने गरेको छ । फोहर व्यवस्थापन जस्तो संवेदनशील विषयमा महानगरले वेवास्ता र दीर्घकालीन समाधान नखोज्दा बेलाबेलामा यो समस्या दोहोरिने गरेको छ ।

वर्षौंदेखि रहँदै आएका यी समस्याहरू समाधानमा महानगरको दीर्घकालीन योजना, नीति तथा कार्यक्रम नहुँदा सधैं अवस्था उस्तै रहेको छ । पछिल्लो पटक फेरि महानगरले फोहर व्यवस्थापन गर्न नसक्दा सडक दुर्गन्धित हुन थालेका छन् ।
पछिल्लो १० दिनयता काठमाडौंको फोहर उठ्न सकेको छैन । नुवाकोटको सिसडोल जाने सडकमार्गका स्थानीयले सडक निर्माण नभएसम्म फोहर लैजान नदिनेभन्दै अवरोध गरेपछि फोहर उठ्न नसकेको हो । जसले गर्दा पैदलयात्रीका साथै सवारीसाधन आवतजावतमा समेत समस्या हुन थालेको छ ।

यता महानगर भने आफ्नो कारण नभइ अरुकै कारण फोहर थुप्रिने अवस्था सृजना भएको बताउँछ । ‘काठमाडौंको फोहर १० दिन यता उठ्न सकेको छैन, यसले सबैलाई समस्या भएको छ,’ कामपा प्रवक्ता ईश्वरमान डंगोलले चाण्क्य पोष्टसँग भने, ‘खासमा कामपाले गर्दा फोहर थुप्रेको होइन । तारकेश्वरवासीले सिसडोल जाने पासाङलामु सडकको ६ किलोमिटर सडक लामो समयसम्म कालोपत्र नभएको भन्दै बाटो अवरोध गर्दा फोहर उठ्न नसकेको हो ।’
आफूहरूले बाटो खुलाउन आग्रह गरे पनि अहिलेसम्म खुल्न नसकेको उनले बताए । ‘हामीले बाटो बाटो खुलाउन आग्रह त गरेका छौं, तर कहिले संचालन हुन्छ, थाहा छैन,’ डंगोल भन्छन् । लामो समयसम्म कालोपत्र नहुँदा किन पहल नगरेको भन्ने प्रश्नमा डंगोल भन्छन् ‘त्यो सडक सडक विभाग अन्तर्गत पर्छ कामपाले गर्ने होइन, ५ वर्ष अघि नै पिच गर्ने भनेको सडक अहिलेसम्म नहुँदा स्थानीय आक्रोशित भएका हुन् । अब सडक कालोपत्र गर्न सरकारले नै पहल गर्नुपर्छ ।’

महानगरको उदासिनता भयावह बन्दै अवस्था
काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ टन फोहर संकलन हुने गरेको छ । जसमध्ये काठमाडौं महानर क्षेत्रबाट मात्र दैनिक ५१६ टन फोहर संकलन हुने गरेको छ ।
वर्षेनी अर्बौं कर उठाउने महानगरको उदासिनता र दीर्घकालीन ठोस कार्यक्रम नहुँदा फोहर व्यवस्था पनि जटिल र भयावह समस्या बन्दै गएको छ । फोहोर व्यवस्थापनका लागि भन्दै करिब १ दशक अघि बञ्चरे डाँडामा ल्याण्डफिल निर्माण सुरू गरिए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन ।

काठमाडौं महानगरले फोहर व्यवस्थापनका अन्य वैकल्पिक उपायहरूको खोजी नगर्दा र सिसडोलकै मात्र भर पर्दा फोहर व्यवस्थापन झन् ठूलो चुनौती बन्दै गएको छ । बञ्चरे डाँडा ल्याण्डफिल साइटमा तत्कालै फोहर व्यवस्थापन गरिने बताइए पनि निर्माण पूरा नभएकाले कहिलेदेखि त्यहाँ व्यवस्थापन गर्न सकिन्छ टुंगो छैन् ।
कामपाले २०६२ भदौ २२ गतेदेखि केही वर्षका लागिभन्दै बनाइएको अस्थायी ल्यान्डफिल साइटमा अहिलेसम्म फोहर व्यवस्थापन गर्दै आएकाले कठिनाइ भएको हो । कामपाले १६ वर्षदेखि ओखरपौवा, आलेटार र सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको छ ।

बञ्चरे डाँडाँमा निर्माणधीन स्यानिटरी ल्याण्डफिल्ड साइटको निर्माण जति सक्दो छिटो सम्पन्न नहुने हो भने सिसडोलमा फोहर व्यवस्थापन गर्न कठिन हुन्छ भनेर महानगरले पहिले नै जानकारी गराइ सकेको छ । गत वर्ष सिसडोलमै फोहर व्यवस्थापन भए पनि यो वर्ष त्यहि ठाउँमा फोहर व्यवस्थापन गर्न कठिन छ ।
फोहर व्यवस्थापन घरदेखि नै गर्न सकिने भए पनि महानगरले घरबाट निस्केको फोहर व्यवस्थापन आफैले गर्न सक्नेगरी कुनै पनि योजना ल्याएको छैन । कुहिने फोहरलाई घरमै व्यवस्थापन गरी नकुहिने फोहरको पुनः प्रयोग गर्नका लागि प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक छ । तर, यसबारे महानगरको खासै ध्यान गएको देखिँदैन ।

बढ्दो शहरीकरणसँगै संसारभर फोहर मैला व्यवस्थापनका लागि ‘थ्री आर’ विधि प्रयोग हुन थालेको छ । थ्री आर अर्थात् रिड्युस (कम गर्ने), रियुज (पुनःप्रयोग) र रिसाइकल (पुनः उत्पादन) । नेपालमा पनि यस्तै विधि अपनाउन आवश्यक छ ।
फोहर व्यवस्थापनको कार्य अपरिहार्य र चुनौतिपूर्ण हो भन्ने जान्दाजान्दै पनि कामपाले यस विषलाई वेवास्ता गरेको देखिन्छ । यसले कतै महानगर फोहर व्यवस्थापन गर्नुभन्दा पनि त्यसमै रमाउन अभ्यस्त भएको त हैन भन्ने भान पारेको छ ।

