विश्वकप ग्लोबल क्रिकेट छनोटः नेपालद्वारा ओमान पराजित

आइसिसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

 

ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो । कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको मद्दतमा नेपालले ओमानमाथि सहज जित निकालेको हो ।

 

एक सय १८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । ओमानका नसिम शुखीले सर्वाधिक २४ रन बनाए भने आमिर कलिमले ९, जतिन्दर सिंहले ९, खवर अलीले ७, फैज बटले ६, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।

 

बलिङतर्फ नेपालका कमलसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । त्यसैगरी अविनाश बोहरा र जीतेन्द्र मुखियाले एक–एक विकेट हात पारे ।

 

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौकासहित सर्वाधिक ३८ रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे । यस्तै लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमलसिंह ऐरीले १ रन बनाए ।

 

ओमानका खवर अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले दुई तथा फैज बट, जिसन मक्सुदले एक-एक विकेट लिए । नेपालले दोस्रो खेल शनिबार फिलिपिन्ससँग खेल्नेछ ।

अब सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण हुने Read Previous

अब सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण हुने

अनुत्पादक क्षेत्रमा कर्जा लगानी गर्न राष्ट्र बैंकको ब्रेक, तरलता अभावको समाधान खोज्न दबाब Read Next

अनुत्पादक क्षेत्रमा कर्जा लगानी गर्न राष्ट्र बैंकको ब्रेक, तरलता अभावको समाधान खोज्न दबाब