खानेपानी योजना सञ्चाल गर्न उपभोक्ताबाटै सापटी, पैसा दिन नसक्नेलाई सहकारीको ऋणी

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा सञ्चालन गर्न लागिएको सुनकोशी पाँचखाल वृहत् खानेपानी परियोजनाका लागि उपभोक्ताबाटै ऋण सापटी गरिएको छ । हालसम्म त्यहाँका ५५ उपभोक्ताले दुई लाखका दरले ऋण सापटी दिएकामा १ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ ।

 

स्थानीय उपभोक्ताले परियोजनाको बैंक खातामा १८ हजार रुपैयाँका दरले कूल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख रुपैयाँ उपभोक्ताले जम्मा गर्नुपर्ने शर्त छ ।

 

शर्तअनुसार रकम जम्मा नभएपछि १८ हजार जम्मा गर्न नसक्ने उपभोक्तालाई सहकारीको ऋणी बनाइएको छ भने नपुग उपभोक्ताबाटै ऋण सापटी लिइएको वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले बताए। उनले भने “समयमै खानेपानी सञ्चालनका लागि ऋण सापटी अभियाअन्तर्गत मैले पनि दुई लाख रुपैयाँ दिएको छु ।”

 

 

नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लगानी रहेको सो परियोजनामा नगरपालिका कार्यालयको जमानीमै स्थानीय उपभोक्तालाई सहकारीमार्फत दुई करोड रुपैयाँको ऋणी पनि बनाइएको छ ।

 

इन्द्रावती नदी किनारमा इनार बनाइ लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानीको व्यवस्था गर्न लागिएको छ ।

 

स्थानीय सहकारीले भने चलनचल्तीभन्दा कम (न्यूनतम पाँच प्रतिशतसम्म) ब्याजदरमा करीब एक हजार ५०० खानेपानी उपभोक्तालाई ऋण लिन लगाइएको नगरप्रमुख महेश खरेलले बताए । उनले भने “उक्त ऋण रकम उपभोक्ताले एक वर्षभित्र तिर्न नसके नगरपालिकाले तिरिदिनेछ ।”

 

२ अर्ब २१ करोड रुपैयाँको लागतमा निर्माण गरिने सो परियोजनाका लागि नपुग रकम ऋण सापटीमार्फत जम्मा गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । सो परियोजनाबाट करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।

 

उनका अनुसार पयिोजनाको बैंक खातामा हालसम्म उपभोक्ताबाट मात्रै करीब नौ करोड ५० लाख रुपैयाँ जम्मा भएको छ । उपभोक्तासँग लिएको ऋण सापटी भने आउँदो तीन महीनाभित्र फिर्ता गरिने योजना बनाइएको छ । रासस

सेयर बजार सूचकमा सुधार देखिएपनि कारोबार रकम १४ करोडले घट्यो Read Previous

सेयर बजार सूचकमा सुधार देखिएपनि कारोबार रकम १४ करोडले घट्यो

नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच साझेदारी कार्यक्रम सञ्चालन गर्ने समझदारी Read Next

नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच साझेदारी कार्यक्रम सञ्चालन गर्ने समझदारी