चाडवाड लक्षित ट्राफिक व्यवस्थापन योजना : ४३ ठाउँमा विशेष चेकिङ, १४ स्थानमा सहायता कक्ष

काठमाडौं । दशैं, तिहार जस्ता मुख्य चाडपर्व नजिकिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

 

ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन,शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । सो योजना सोमबारदेखि नै लागू भएको महाशाखाले जनाएको छ ।

 

चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरि सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागु गरेका हौं, योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ती परिचालन, चेकजाँचमा कडाई र नागरिक सहायता कक्षा स्थापना गरि सेवा प्रवाह गर्ने योजना रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।

 

उनले बसपार्क, टिकट काउण्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणको लागी अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेकजाँच एव अनुगमन गर्ने, पूर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाउने बताए ।

 

योजना सहितको विशेष चेकिङ

 

दैनिक रुपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चार पटकसम्म तालिका बमोजिमको चेकिङ्ग गर्दै आएको छ भने नाकाहरुमा २४सैं घण्टा चेकजाँच हुने गरेको छ । चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागी चेकजाँचलाई समेत कडाई पार्ने योजनामा उल्लेख छ ।

 

चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरि सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रीकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रुपमा मापसे चेकजाँच गरि कडाई गरिने एसएसपी भट्टराईले बताए ।

 

विशेषगरी चाडपर्व समयमा तीव्रगती र मादक पदार्थ सेवन गरि सवारी चलाउँदा हुने दुर्घटनालाई सून्यमा झार्न विशेष चेकिङ्ग योजना सफल हुने अपेक्षा लिएको छु, तीव्रगति नियन्त्रणका लागी नाईट भिजन लेजर स्पीड गन समेत प्रयोग गरिने बताए ।

 

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना रहेको छ ।

 

मुख्यतय लामो दूरीका सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राखे नराखेको, बढी भाडा लिए नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेकजाँच गर्ने महाशाखाले जनाएको छ ।

 

महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए/नभएको ट्राफिक प्रहरीको एप्सबाट समेत चेकजाँच गर्ने उल्लेख छ ।

 

बढी भीडभाड हुने एरियामा थप ट्राफिक प्रहरी परिचालन

 

चाडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने एरियामा थप जनशक्ती परिचालन गर्ने महाशाखाको योजना रहेको छ ।

 

बिशेषगरि बसपार्क एरिया, उपत्यका प्रबेश गर्ने नाकाहरु, सपिङ्ग कम्प्लेक्स तथा व्यापारिक केन्द्रहरुमा किनमेलका लागी आउने मानिस तथा सवारी साधनको बढि भीडभाड हुने गर्छ, त्यस्ता स्थानहरुमा अतिरिक्त ट्राफिक प्रहरी जनशक्ती परिचालन गरि सहज आवागमनको व्यबस्था मिलाईने महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले बताए ।

 

न्यूरोड एरिया, ठमेल, कालीमाटी, कलंकी, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, बौद्ध, बालाजु, बसपार्क लगायतका एरियामा बढी भीडभाड हुने कारण हुने विगतको अनुभवलाई मनन गर्दै त्यस्ता क्षेत्रमा थप जनशक्ती परिचालन गरि ट्राफिक व्यवस्थापन एव पार्किङ्ग व्यवस्थापन मिलाइने र आवश्यक परेको खण्डमा न्यूरोड, खिच्चापोखरी, ईन्द्रचोक लगायतका भित्री इलाकामा सवारी साधन डाइभर्सन समेत गरिने प्रवक्ता दासले जानकारी दिए ।

 

१४ स्थानमा यात्रु सहायता कक्ष

 

उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुने भएको छ । नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।

 

आम सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षा सम्बन्धी सूसुचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगी लगायतका यात्रुहरुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था समेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ ।

 

यात्रुले स्पष्ट देखिने गरी टिकट काउन्टरमा अनिवार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय सहकार्य गरिने माहशाखाले उल्लेख गरेको छ ।

 

सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन

 

नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुन सक्ने सवारी चाप, यात्रुसँग बढी भाडा लिई हुने ठगी, यात्रुसँग हुने अमर्यादित व्यवहार, गन्तव्य नपुगी गाडीबाट ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी सजक र सक्रिय रहने एसएपी भट्टराईले बताए।

 

अन्य समयको तुलनामा चाडपर्वको समयमा विशेषगरि गंगबु नयाँ बसपार्क क्षेत्र, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर, पुरानो बसपार्क, गौशाला, जडिबुटी लगायतका भीडभाड हुने स्थान र टिकट काउन्टरहरुमा हुन सक्ने भाडा ठगी नियन्त्रण गर्न, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी गर्न, त्यस्तै टिकट मूल्यअनुसार लिएको छरछैन चेकजाँच गर्न र पकेटमार तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गर्ने महाशाखाले जनाएको छ ।

 

तोकिएकोभन्दा बढी भाडा असुली गर्ने, लामो दूरीका सवारीमा दुईजना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शंका लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउन महाशाखाले सर्वसाधारणसँग अनुरोध गरेको छ ।

 

कोभिड नियन्त्रणका लागि विश्व बैंकको थप सहयोग आवश्यक छ : अर्थमन्त्री शर्मा Read Previous

कोभिड नियन्त्रणका लागि विश्व बैंकको थप सहयोग आवश्यक छ : अर्थमन्त्री शर्मा

वेस्टर्न युनियनको 'क्यास उत्सव' योजना, 'लक्की ड्र'मा ५ लाख जित्ने मौका Read Next

वेस्टर्न युनियनको 'क्यास उत्सव' योजना, 'लक्की ड्र'मा ५ लाख जित्ने मौका