पसलेबाट ठगिनुभयो, मोबाइल बाटै गर्नुहोस् उजुरी

काठमाडौं । अब उपभोक्ताले कुनै ठाउँमा आफू उपभोग्य वस्तुमा ठगिएको महशुस भएमा सम्बन्धित निकायमा नगई घरबाटै गुनासो गर्न सक्ने भएका छन् ।

 

वाणिज्य, आपूर्ती तथा संरक्षण विभाले दशैँ अगाडिनै ‘कन्जुमर कम्प्लेन’ मोबाइल एप ल्याउने भएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार मोबाइल एपको सफ्टवेर बनिसकेको र त्यसलाई परीक्षण गरी सार्वजनिक गर्न बाँकी रहेको छ ।

 

‘हामीले सार्वजनिक गरेका पनि थियौँ, त्यसमा उपभोक्ताले केही चासो देखाएनन्, अब केही परिमार्जन गरी दशैँ अगाडि नै सार्वजनिक गर्नेछाँै,’ महानिर्देशक गौचनले चाणक्य पोष्टसँग भने ।

 

उनले उपभोक्ताले घरमै बसेर वा अन्य कुनै पनि ठाउँबाट उपभोग्य वस्तुमा हुने ठगी विरुद्ध गुनासो र उजुरी मोबाइलबाटै गर्न पाउने बताए । विभागले ‘कन्जुमर कम्प्लेन’ नामक एप ल्याउन लागेको हो ।

 

उपभोक्ताले आफू ठगिएको अवस्थामा गुनासो तथा उजुरी गर्न विभागसम्म पुग्नु पर्ने झन्झटको अन्त्य गर्दै एप ल्याउन लागेको हो ।

 

यसरी एप आए पछि उपभोक्ताले जुनसुकै स्थानमा ठगिए पनि एप मार्फत सजिलै उजुरी गर्न पाउने विभागको भनाई छ । यसरी आएका उजुरी अनुसार नै विभागले अनुगमनलाई निरन्तरता दिने विभागले जानकारी दिएको छ ।

 

यो एप एन्ड्रोड मोबाइलको प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने छ ।

 

विभागले तयार पारेको सो एप वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत सरकारले स्वीकृति प्रदान गरेपछि संचालनमा ल्याउने छ ।

 

सर्वसाधारणको गुनासो अनुसार सो स्थानको प्रदेशले त्यसलाई हेर्ने र कारवाही गर्ने विभागले जानकारी दिएको छ ।

 

कम्प्लेन एप आए पछि अनुगमन र त्यसको कारबाहीलाई अघि बढाउनका लागि छुट्टै टोलीको पनि आवश्यक पर्ने विभागले जानकारी दिएको छ । त्यसका लागि आवश्यक व्यवस्थापन विभागले गरिरहेको छ । जनशक्तिको कमि भएकाले तत्काल त्यसलाई कार्यान्वयनमा ल्याउन नसकेको महानिर्देशक गौचलनले बताए ।

 

उनले यो एपबाट गुनासो र उजुरी मात्र नभई अनुगमन र कारवाहीको जानकारी समेत पाउन सकिने जानकारी दिए ।

 

यो पारदर्शी हुने र यसले कर्मचारीलाई पनि काम गर्नका लागि दबाब थप्ने उनको भनाई थियो ।

 

गुनासोका लागि एप गत वर्षमै बनाइएको भएपनि त्यसले कार्य गर्न नसकेकाले त्यसलाई परिमार्जन गरी नयाँ एप सार्वजनिक गर्न लागिएको उनले बताए ।

 

अब ७७ वटा जिल्लामा १/१ वटा निरीक्षण अधिकारी तोक्ने व्यवस्था मिलाउन समेत सरकारलाई आग्रह गरिएको विभागले जनाएको छ ।

 

उपभोक्ता अदाल गठनका लागि समेत मन्त्रालयमा फाइल पेस गरिसकेको उनले बताए ।

 

३ वटा फर्म सिलबन्दि

 

आर्थिक वर्ष २०७५/७६ को अनुगमनका क्रममा विभागले ३ वटा फर्म सिलबन्दि गरेको छ । विभागका निर्देशक सोभाकर रेग्मीले पानी पुरी अखाद्य वस्तु राखेर बनाइएको पाइएकोले त्यसलाई सिलबन्दि गरिएको जानकारी दिए।

 

उनले पानी पुरीको पुरी बनाउने पिठो मिति नाघेको भेटिएको बताए । बिग्रिएको, कुहिएको सामाग्री लगेर बनाउने गरेको पाइएको जानकारी दिए ।

 

आर्थिक वर्ष २०७५÷७६ मा १ सय ६१ र्फमलाई जरीवाना गरिएको थियो । त्यस बापत विभागले ४३ लाख २१ हजार राजश्व असुल गरेको छ ।

 

२५ अनुगमन टोलीले उपत्यका भित्र १४ सय १२ र उपत्यका बाहिर २ सय ६० अनुगमन गरेको थियो । उपत्यका भित्र गरिएको अनुगमनमा तत्काल जरिवाना कारवाहीबाट ३ लाख ३७ हजार रुपैयाँ राजश्व असुल गरिएको थियो भने उपत्यका बाहिर १ लाख रुपैयाँ राजश्व असुल गरिएको थियो ।

 

कुल ८१ वटा व्यवसायीक फर्ममा विभागले अनुगमन गरेको थियो । सो मध्ये ४१ वटा फर्मलाई जरिवानाको दायरामा ल्याएको हो । २४ फर्मलाई स्पष्टिकरणको माग गरिएको छ भने ३ वटा फर्म सिलबन्दि गरिएको छन् ।

 

मुद्दा दायर गर्ने सम्बन्धिमा निर्णयका लागि एउटा फर्मलाई पठाइएको छ भने गुणस्तर परिक्षणका लागि ५ वटा फर्मको नमुना पठाइएको छ ।

 

यस्तै, उपत्यका बाहिर २ वटा टोलीले ४ वटा फर्ममा अनुगमन गरेका थिए । सो अनुगमनका क्रममा २ वटा फर्मलाई जरिवाना गरिएको छ ।

 

अनुगमनका क्रममा बुटिकहरुले बजार मूल्य ३० हजार रुपैयाँसम्म पर्ने कपडालाई ५ हजार मूल्य बताएको विभागले जनाएको छ ।

 

हाल विभागले अनुगमनका क्रममा तत्काल २ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँ जरिवाना गर्न पाउछ भने १ वर्षसम्मको जेल सजाय समेत गर्न पाउने व्यवस्था रहेको छ ।

गाउँमै श्रम बैंक खुलेपछि रोजगारीका लागि भारत जाने दिन गए Read Previous

गाउँमै श्रम बैंक खुलेपछि रोजगारीका लागि भारत जाने दिन गए

एभरेष्ट इन्सुरेन्सको साधरण सभा असोज १ गते हुने Read Next

एभरेष्ट इन्सुरेन्सको साधरण सभा असोज १ गते हुने