बीबीसी । अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा गुड्दै गरेको विमानको ककपिटमा छिर्ने प्रयासपछि एकजना पुरुषले विमानबाटै हाम फालेका छन्।
ती पुरुषले विमानको ढोका खोल्दै आपत्कालीन अवस्थामा प्रयोग गरिने चिप्लेटीको प्रयोग गरेर भाग्न खोजेको सङ्घीय उड्डयन प्रशासन (एफएए)ले जनाएको छ।
उनलाई विमानस्थलकै ट्याक्सी वेमा पक्राउ गरेर अस्पताल पुर्याइएको थियो। अमेरिकामा पछिल्लो समय उडानका बेला हुने घटनामा वृद्धि भएका छन्। यो वर्ष मात्र झण्डै ३ हजारवटा त्यस्ता घटनाहरू भएको बताइएको छ।
स्थानीय समय अनुसार साँझको ७ः१० मिनेट जाँदा साल्ट लेक सिटी जान लागेको युनाइटेड एक्सप्रेसको फ्लाइटमा उक्त घटना भएको थियो।ट्याक्सी वेबाट धावनमार्गतर्फ जाने क्रममा चालक दलले ती यात्रु आफ्नो सिटबाट उठेको देखेका थिए।
उनीहरूका अनुसार उनी आपत्कालीन ढोकातर्फ लाग्नुभन्दा पहिले ककपिटको ढोकातर्फ अघि बढेको बताएको एनबीसी न्यूजले लेखेको छ।त्यसपछि उक्त विमान आफ्नो गेटमा फर्किएको थियो। अधिकारीहरूले ती यात्रुको नियत र घटनाबारे बुझ्न अनुसन्धान शुरु गरेका छन्।
सन् १९९५ यता यस्ता विवरण राख्न थालिएयता गत महिना सबैभन्दा धेरै कानुन तोड्ने सम्भावित घटनाहरू देखिएको एफएएले जनाएको छ।२५ मेसम्ममा ३९४ जना यात्रुहरूले ‘चालक दलको काममा हस्तक्षेप गरेको’ एफएएको विवरणमा भनिएको छ। गतसाल वर्षभरमा १८३ जना यात्रुहरू अनुसन्धानको दायरामा आएका थिए।