काठमाडौं । काठमाडौं उपत्यकामा १ महिनादेखि जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने भएको छ ।
कोरोना संक्रमण केही घटेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अब निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो।
जिल्ला प्रशासनले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी बिहान १० बजेसम्म खोल्न दिने गरी मोडालिटी बनाइरहेको जनाइएको छ ।
यस्तै, प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न दिने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने, बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न दिइने जनाइएको छ ।
यस्तै, उद्योगहरुलाई कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न दिने, वैदेशिक रोजगारीमा जानेलाई पासपोर्ट तथा भिसाको आधारमा आवतजावत गर्न दिइने तयारी गरिएको छ ।
वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अन्तिम पटक थपिएको म्याद जेठ २० गते सकिँदै छ । त्यसपछि पनि निषेधाज्ञा जारी नै राखिने भए पनि केही खुकुलो बनाउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।