थप कडा बनाइएको निषेधाज्ञामा के-के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? (सूचीसहित)

काठमाडौं । कोभिड­१९ सङ्क्रमणको जोखिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौँ उपत्यकामा यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । थप कडाइका साथ जारी आदेश यही जेठ १४ गते बिहान १ बजेदेखि लागू हुने छ ।

 

काठमाडौँ उपत्यकाका काठमाडौँँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको मंगलबार बैठकले आगामी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

 

यसपाली भने किराना पसल पनि बन्द गरिएको छ । बिहानी बेलुकाको घुमघाममा समेत रोक लगाइएको छ । निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री (तरकारी, फलफूल, दूध, डेरी, मासु, खानेपानी र ग्यास) खरीदबिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । यसअघि बिहान १० बजेसम्म खुला गरिएको थियो । अहिले थपिएका समयमा भने खाद्यान्न, किराना पसल तथा डिपार्टमेन्टल स्टोर्सलगायत अन्य पसल सञ्चालनमा रोक लगाइएको छ ।

 

विगतमा उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो । अहिले तेस्रो पटक म्याद थप गरेर आदेश लागू गरिएको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।

 

सोही अधिकार प्रयोग गर्दै जारी गरिएको आदेशामा सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुद सञ्चालन गर्न पाइने छैन ।

 

औषधी, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको दुरी कायम गर्नुपर्ने छ । अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सार्वजनिक एवम् निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुने छ ।

 

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, ईन्धन खाना पकाउने ग्याँस, दूरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन सरफमाईमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

 

खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दुरसञ्चार इन्टरनेट, भेटेरिनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीमा व्यानर राखेर राती ९ देखि विहान ९ बजेसम्म गाडी सञ्चालन गर्न पाइने छ । तोकिएको तरकारी बजार बाहेकका क्षेत्रमा विक्री बन्द गर्ने र थोक बजारमा फुटकर विक्री गर्न नदिइने आदेशमा भनिएको छ ।

 

अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था÷संस्थान, बीमालगायतका कार्यालयको सेवा स्थगन गरिएको छ । सरकारी कार्यालय, संस्थान, बैँक, इन्टरनेट सेवा प्रदायक संस्थाको सवारी साधान विहान ९ः३० देखि १०ः३० र साँझ ५ देखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

 

वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैँकको हकमा प्रधान कार्यालयसहित दुई शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्युनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । यसअघि २५ प्रतिशत सम्म जनशक्ति राख्न सकिने व्यवस्था थियो ।यस्तै सार्वजनिक तथा निजी विकास निर्माणका काम तथा ढुवानीका सबै गतिविधि सञ्चालनमा रोक लाइएको छ ।

 

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा ७ जनाभन्दा बढी उपस्थित हुन नपाइने र एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । नित्य पूजा बाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धीत वडाको सिफारिस, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

 

बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा एक जना उपत्यकाभित्र जान पाइने तर अन्यत्र बिरामी भइ जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ ।

 

यस्ता छन् गर्न पाइने र नपाइने काम

 

 

भोट तान्ने 'अस्त्र' बनाइँदै वृद्धभत्ता, लहडमा बढाउँदा यस्ता पर्छन् दूरगामी असर Read Previous

भोट तान्ने 'अस्त्र' बनाइँदै वृद्धभत्ता, लहडमा बढाउँदा यस्ता पर्छन् दूरगामी असर

युरोपेली युनियनले कमजोर राष्ट्रहरुलाई १० करोड डोज खोप दिने Read Next

युरोपेली युनियनले कमजोर राष्ट्रहरुलाई १० करोड डोज खोप दिने