बीबीसी । जमिनमा कोरोना भाइरस नियन्त्रणको लागि लागू गरिएका प्रतिबन्धबाट उम्किनका लागि भारतका एक जोडीले जहाज नै चार्टड गरेर माथि आकाशमै विवाह गरेका छन् ।
आकाशमै गरिएको उक्त विवाहमा १६० जनाको उपस्थिति थियो । सामाजिक सञ्जालहरुमा भाइरल भएको उक्त फोटोमा चार्टड विमानमा भरिभराउ पाहुनाहरु र बेहुला बेहुली देखिन्छन् ।
जहाज उडेको राज्य तामिलनाडुमा कोरोना भाइरस नियन्त्रणको लागि विभिन्न प्रतिबन्धहरु लगाइएका छन् । उक्त राज्यमा विवाह समारोहमा ५० भन्दा बढी मानिसहरु जम्मा हुन नपाइने व्यवस्था गरिएको छ ।भारतको नागरिक उड्ययनले उक्त घटनाको बारेमा छानबिन भइरहेको बताइएको छ ।
स्पाइस जेटका प्रवक्ताका अनुसार विवाहको लागि भन्दै बोइङ ७३७ जहाज तामिलनाडुबाट बैङ्लोरसम्मका लागि बुक गरिएको थियो । प्रवक्ताका अनुसार जहाज भाडामा लिने ग्राहकलाई कोभिड गाइडलाइन्सहरुको पालना गर्नुपर्ने र त्यस विपरीत गतिविधिहरु नगर्न सचेत गराइएको थियो ।
भारतमा अहिले कोरोना भाइरसको दोस्रो लहरको महामारी चलिरहेको छ भने दैनिक ४ हजार हाराहारी मानिसको मृत्यु भइरहेको छ ।