अब निषेधाज्ञा उल्लंघन गरे १ वर्ष कैद र ५ लाख जरिवाना

काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागू गरेको निषेधाज्ञा आदेश उल्लंघन गर्ने माथि कडा कारबाही गर्ने भएको छ । निषेधाज्ञा पालना नगर्ने माथि १ वर्षसम्म ५ लाखसम्म जरिवाना वा दुवै सजाय गर्ने भएको हो ।

 

सरकारले ‘कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । कोरोना महामारी रोकथामका लागि प्रशासनबाट जारी आदेश उल्लंघन गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना र १ वर्षसम्म कैद वा दुवै सजाय गर्नसक्ने अध्यादेशमार्फत प्रावधान गरिएको हो ।

 

संक्रामक रोग ऐनअनुसार १०० रुपैयाँ जरिवाना वा एक महिना कैद वा दुवै सजाय, काममा अवरोध पुर्‍याए ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था भएपनि अध्यादेश मार्फत झन् कडा बनाएको हो ।यस्तै, आदेश अटेर गरे ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सक्ने प्रावधान पछिल्लो अध्यादेशमा समेटिएको छ ।

अध्यादेशले आदेशविपरीत काम गरे संस्था वा व्यवसायलाई ६ महिना बन्द गर्न सक्ने अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

 

निषेधाज्ञामा अनुमतिबिना सवारी चलाए २ पाङ्ग्रेलाई २ हजार र ४ पाङ्ग्रेलाई ५ हजार जरिवाना, मास्क नलगाए पटकै पिच्छे १०० र निषेधाज्ञा उल्लंघन गरेर हिँडडुल गरे प्रत्येक पटक २०० रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।

 

यसैबीच, गृह मन्त्रालयले निषेधाज्ञालाई थप कडाइ गर्न ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार दोस्रोपटक संसद् विघटन भएसँगै राजनीतिक दलहरुले प्रतिवाद गर्ने घोषणा गरेसँगै त्यसलाई मध्येनजर गर्दै गृहले कडाइका साथ निषेधाज्ञा पालना गराउन निर्देशन दिएको हो ।

उदयपुर सिमेन्टको १४ वर्षपछि साधरण सभा हुँदै, ३.३८ अर्बको साधरण सेयर जारी गर्ने Read Previous

उदयपुर सिमेन्टको १४ वर्षपछि साधरण सभा हुँदै, ३.३८ अर्बको साधरण सेयर जारी गर्ने

पर धकेलिँदै रसुवागढी जलविद्युत्, उपकरण जडान र प्रसारण लाइन निर्माणमा ढिलाइ Read Next

पर धकेलिँदै रसुवागढी जलविद्युत्, उपकरण जडान र प्रसारण लाइन निर्माणमा ढिलाइ