काठमाडौं । काठमाडौंका सवारी चाप धेरै हुने ६ स्थानमा आकासे पुल (ओभरहेड ब्रीज) निर्माण गर्ने सरकारको तयारी रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठका अनुसार कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, गौशाला, थापाथली र कालीमाटी चोकमा ओभरहेड ब्रिज निर्माण गर्ने सरकारको तयारी रहेको हो ।
उनले यी क्षेत्रमा बढि जाम हुने र मान्छेलाई सडक पार गर्न समेत अप्ठ्यारो हुने भएकाले आवश्यकता अनुसारको ओभर हेड ब्रिज निर्माण गरिने बताए ।
सोमबार आयोजीत एक कार्यक्रममा बोल्दै उनले आवश्यता अनुसार कभर अन्डर पासको समेत निर्माण गर्ने सरकारको योजना रहेको बताए ।
उनले सरकारले लक्ष्य भन्दा बढि काम गरिरहेको बताउँदै चाबहिल–चुचेपाटी–साँखु सडकको निर्माणलाई समेत तिब्र गतीमा सम्पन्न गर्न सरकारले काम गरिरहेको जानकारी दिए ।
उनले विशेष गरेर चाबहिलदेखि चुच्चेपाटीको सडकमा ८० वर्ष पुराना खानेपानीका पाइप भएकाले त्यसमाथी जति राम्रो सडक निर्माण गरेपनि नटिक्ने गरेको बताए ।
‘चाबहिलदेखि पासाङलामु सम्म खानेपानीका पुराना पाइपको कारणले जति सुकै राम्रो सडक बनाए पनि १ वर्षभन्दा बढि नटिक्ने गरेको छ । गौशलादेखि चुच्चेपाटीसम्मको खानेपानीको काम समेत भौतिक मन्त्रालय आफैले सम्पन्न गर्ने गरी प्रकृया अघि बढाएका छाैँ’, मन्त्री महासेठले भने ।
उनले देशभरमा असार २४ सम्ममा ९ सय १५ किलोमिटर नयाँ सडकमा पिच गरिएको बताएका छन् । त्यस्तै सय भन्दा बढि पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा २ सय ४३ ठूला पुल निर्माण सम्पन्न भएको दाबी गरेका छन् । उनले अबको २ वर्षमा कम्तिमा १५ हजार किलोमिटर नयाँ सडक बनाउने लक्ष्य सरकारले लिएको बताए ।
यो वर्ष सुन्दर काठमाडौं निर्माणको सुरुवात
उनले गत वर्ष सरकारका लागि विद्येयक बनाउने तथा तयारी गर्ने वर्षको रुपमा भएकाले सोचे जति काम गर्न नसकेको स्वीकादै नयाँ आर्थिक वर्ष काठमाडौंलाई सुन्दर बनाउने तयारीमा सरकार लागेको बताए ।
अब सरकारसँग ११ महिनामात्र बाँकी रहेको बताउँदै उनले सुन्दर काठमाडौं निर्माण गर्नका लागि यो वर्ष २/३ वटा पुललाई ‘ब्यूटिफिकेसन’ गरिने बताए ।
साथै केही ‘सिग्नेचर’ पुलको निर्माण समेत सम्पन्न गरिने जानकारी दिए । उनले यो वर्ष बिजुली बजार, थापाथली र रातोपुललाई बिउटिफिकेसन गरिने बताएका छन् ।
यही मसान्तदेखि रिङ रोड विस्तार गर्ने तयारीमा समेत सरकार रहेको उनले बताए ।‘यो आर्थिक वर्षमा समेत हामीले केही गर्न सकेनौँ भने यो सरकार पनि पुरानै सरकार जस्तो रहेछ भने हुन्छ,’ मन्त्री महासेठले भने ।
विकास निर्माणको काम एक दिनमा वा एक वर्षमा सम्पन्न नहुने बताउँदै उनले १० वर्षको अवधिमा नेपालको मुहार फेर्ने काम यो सरकारले गर्ने बताए ।
२ वर्षभित्र जलमार्गमा नेपालको झण्डा भएको जहाज चल्ने
उनले २ वर्षभित्र समुन्द्रमा र जलमार्गमा नेपालको आफ्नै झण्डा भएको पानी जहाज चलाउने प्रधानमन्त्रीसँग सम्झौता भएको जानकारी दिए ।
‘यो सिलखित सम्झौता हो । अब त्यो योजनाको कुरा हो । त्यसका लागि हामीले भारत सरकारसँग लिजमा लिएर वा जग्गा किनेर सानो भए पनि टर्मिनल बनाएर सञ्चालन गर्न सक्छौँ’, उनले भने । त्यसका लागि बंगलादेश वा भारतसँग जग्गा लिनुपर्ने भएका कारण त्यसतर्फ काम भइरहेको उनले जानकारी दिए ।
२ हजार ८ सय किलोमिटर रेलमार्ग निर्माण गर्ने लक्ष्य
मन्त्री रघुबीर महासेठले अबको २ वर्षमा २ हजार ८ सय किलोमिटर रेल मार्ग निर्माण गरिने तयारी भइरहेको बताएका छन् । उनले काकँडभित्ता, गैंडाचौकी, काठमाडौं, रसुवागढी, पोखरा, लुम्बिनी बुटवल, भैरहवा सबैलाई जोड्ने लक्ष्य सहित सरकारले रेलमार्ग निर्माण गर्ने बताएका हुन् ।
बर्दिबास खण्डमा १२ किलोमिटरमा रेलमार्ग सञ्चालनका लागि भारतसँग जीटुजी ४५ देखि ५० दिनमा डेमो रेलको २ वटा सेट प्राप्त हुनासाथ तु सञ्चालनमा ल्याउने उनले बताए ।
त्यसका लागि विद्युत्तीय रेल मार्ग ऐन निर्माणको प्रकृया अघि बढेको छ । प्राधिकरण ऐन संसदमा पेस भइसकेको छ ।