डिजिटाइजेशनले जग्गा काराेवार गर्ने स्थानमा ल्याएकाे परिवर्तन

काठमाडौं । पछिल्लो समय सरकारले मालपोत कार्यालयहरु डिजिटलाइज गर्न सुरु गरेदेखि यसको मुहार नै फेरिएको छ । डिजिटलाइज मालपोत कार्यालयहरुमा ठाउँ–ठाउँमा सीसी क्यामेरा देखिन थालेका छन् । कागजका ढड्डा तथा दराजले भरिने गरेका मालपोत कार्यालयहरु खुल्ला र सफा देखिन थालेका छन् । कागजमा कलमले लेखेर काम गर्ने गरेका कर्मचारीहरु कम्प्यूटरमा बसेर काम गर्न थालेका छन् ।

 

केही सेवाग्राहीको भनाई अनुसार पहिलेका मालपोत कार्यालय भन्दा भर्खर डिजिटलाइज भएका कार्यालयमा बैंकको जस्तै सुविधा हुन थालेको छ । अहिले मालपोत कार्यालय प्रवेश गर्ना साथ प्रिन्ट टिकट लिनुपर्ने र आफ्नो नम्बर आएपछि आफ्नो काम सकेर निस्किन सकिने व्यवस्था गरिएको छ । बस्ने ठाउँ व्यवस्थीत छ अनि मोनीटरबाट आफ्नो पालो कति बेला आउँछ हेर्न सकिन्छ । यसरी सेवाग्राही आजको समयमा कागजी र झन्झटीलो दुनियाँबाट निस्केर डिजिटलाइज मालपोत कार्यालयको स्वरुप र सेवामा केही हदसम्म सन्तुष्ट देखिन्छन् ।

 

पहिला जग्गा पास गर्दा धेरै ठाउँ धाउनु पर्ने र झन्झटिलो व्यवस्था भएको र अहिले धेरै राम्रो भएको लाइन बस्नु पर्ने समस्या नरहेको बताए । ‘पहिले कोठा–कोठा धाउँदै हिँड्नु पर्ने, निकै झनझट र अप्ठ्यारो हुन्थ्यो, अहिले पहिला भन्दा धेरै राम्रो भएको छ, सिस्टममा काम हुँदैछ तर, अझै राम्रो हुन बाँकी छ, त्यो पनि विस्तारै होला नी,’ महर्जनले भने ।

 

अनलाईन प्रकृयामा आउने सेवाग्राही कम भए पनि विस्तारै यस प्रक्रियालाई सेवाग्राहीले सिक्दै गएको कलंकी मालापेत अधिकृत पूर्णबहादुर केसीले जानकारी दिए । कलंकीमा पब्लीक एक्सेस मोडल (पीएएम) बाट अनलाइन मार्फत नै काम हुने गरेको छ । भनौ कलंकीले हिजोको कागजी प्रकृयाबाट अनलाईमा आफुलाई परिमार्जन गरेको छ । मालपोत अधिकृत केसीकाअनुसार पछिल्लो समय कार्यालयमा भिड कम भएको जानकारी दिए । पहिले फारम लिने दिनेको घुइचो हुने गथ्र्यो । अब सेवाग्राहीहरुले आफै फारम भरेर बुझाउन थालेका छन् ।

 

 

‘अहिले सबै फारम भर्ने काम उहाँहरु आफैले अनलाइनबाट गर्नुहुन्छ, पहिले जस्तो भिड छैन, एकै ठाउँमा बसेर सबै काम हुन्छ,’ मालपोत अधिकृत केसीले चाणक्य पोष्टसँग भने । पछिल्लो समय मालपोत कार्यालयहरुमा डाटा अभिलेख सिस्टममा लगेर राखिने गरेको छ । पहिले मालपोत कार्यालयभित्र छिरेपछि क्षेत्र अनुसार छुट्टा छुट्टै कोठामा धाउनु पर्ने हुन्थ्यो भने अहिले सबै क्षेत्रको काम एउटै कोठाबाट हुने गरेको उनले जानकारी दिए ।

 

हाल कलंकी मालपोत कार्यालय भित्र पर्ने किर्तिपुर, दक्षिणकाली, चोभार, फर्पिङ लगायतका ५ वटा फाँटको काम एउटै कोठाबाट हुने गरेको छ । उनले मालपोत कार्यालय पारदर्शी हुँदै गएको दाबी गरे । मालपोत कार्यालयमा ढड्डा राख्न प्रयोग हुने २ सय दराज थन्काइएको केसीले जानकारी दिए । मालपोत कार्यालय प्रवेश गरेको समयदेखि हरेक ठाउँमा सीसी क्यामेरा राखिएका छन् । उनले अब सेवाग्राहीहरुले मालपोत कार्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए ।

 

‘हाम्रो कार्यालयमा हरेक ठाउँमा सीसी क्यामेरा राखिएको छ, यसले १५ मिटरसम्मको अडियो समेत क्यापचर गर्छ, अब घुस लिने ठाउँ छैन, कामचोरी गर्ने कुरै भएन, अब मालपोत कार्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ,’ मालपोत अघिकृत केसीले भने । उनले आउँदो समयमा क्यामेराका पहुँच अख्तीयारमा पनि दिने कुरा भइरहेको जानकारी दिए ।

 

आजभोलि मालपोत कार्यालयमा सामान्यत १/२ कित्ताको काम अनलाईनबाट फारम भरेर आउँदा सरासर काम भयो भने ३० मिनेट जति लाग्ने गरेको उनको दाबी छ ।

 

साक्षर सेवाग्राही सन्तुष्ट, पढ्न नजान्नेलाई समस्या

 

स्वयम्भुवासी ज्ञानदत्त शाही कलंकी मालपोत कार्यालयमा गलत नागरिकता नम्बर राखिएकाले नम्बर सच्याउन आएका हुन् । मालपोतको अहिलेको सेवाबाट उनि सन्तुष्ट देखिए । ‘१ वर्ष अगाडि जग्गा पासगर्न आउँदा २/३ दिन लागेको थियो, तर अहिले एक दिनमै काम हुने रहेछ’ शाहीले भने । पहिलेको झै आएर लाइन बस्नु नपर्ने र आफ्नो पालो आएपछि काम सरासर हुने गरेकोले सेवाग्राहीलाई सजिजलो भएको उनी बताउँछन् ।‘लाइन बस्नु परेको छैन, पहिला ४/५ घण्टामा पालो आउँथ्यो अहिले त्यस्तो छैन, टोकन लिएर पालो आएपछि गए हुन्छ, धेरै समय नी लागेको छैन,’ शाहीले चाणक्य पोष्टसँग भने ।

 

स्वयम्भु चौमती बस्दै आएकी निर्मला थापा जग्गा दर्ता गर्न मालपोत कार्यालय आएकी थिइन् । उनी भने मालपोत कार्यालयमा पहिला र अहिलेको अवस्था उस्तै रहेको बताउँछिन् । ‘मलाई त केही परिवर्तन भए जस्तो लाग्दैन, पहिला नी यस्तै थियो । कुर्नै पथ्र्यो । अहिले नी त्यस्तै छ, अनलाइनमा के भर्ने केही थाहा छैन,’ थापाले भनिन् ।

 

यस्तै कृर्तिपुरबाट जग्गा पास गराउन आएका राम महर्जन अहिले मालपोत कार्यालयमा हुने काममा धेरै सुधार भएको बताउँछन् । उनले पहिला जग्गा पास गर्दा धेरै ठाउँ धाउनु पर्ने र झन्झटिलो व्यवस्था भएको र अहिले धेरै राम्रो भएको लाइन बस्नु पर्ने समस्या नरहेको बताए । ‘पहिले कोठा–कोठा धाउँदै हिँड्नु पर्ने, निकै झनझट र अप्ठ्यारो हुन्थ्यो, अहिले पहिला भन्दा धेरै राम्रो भएको छ, सिस्टममा काम हुँदैछ तर, अझै राम्रो हुन बाँकी छ, त्यो पनि विस्तारै होला नी,’ महर्जनले भने ।

 

डिजिटल रुपमा आउने सेवाग्राही साँखुमा शून्य

 

उता साँखु मालपोत कार्यालय डिजिटलाइज भए पनि अझै सेवाग्राहीहरुले डिजिटल रुपमा भने सेवा लिन सकेका छैनन् । साँखु मालपोत कार्यालय प्रमुख रोशनशंकर घिमिरेले मालपोत डिजिटलाइज भएको थोरै समय भएको हुनाले डिजिटल रुपमा अनलाइनमै फारम भरेर आउनेको संख्या नभएको हो ।

 

उनका अनुसार पासवर्ड राखेर आफ्नो जग्गाको अवस्था हेर्न मिल्ने भएता पनि हालसम्म अनलाइन कन्टेम भएर सेवाका लागि कोही पनि आएका छैनन् । उनले कार्यालयका सबै ढड्डाहरु स्क्यान भइसकेका र मालपोतका कर्मचारीहरुले कम्प्यूटरबाटै काम गर्ने गरेका जानकारी दिए ।

 

हाल ५ वटा गाविसका काम एउटै कोठाबाट भइरहेको उनले बताए । पहिला प्रत्येक गाविसको कामका लागि छुट्टा छुट्टै कोठामा धाउनु पर्ने बाध्यकारी अवस्था थियो । हाल साँखु मालपोत कार्यालयमा डिजिटलाइज व्यवस्थाको सेवा कर्मचारीले मात्र लिन पाइरहेका छन् । सेवाग्राहीमा यसको सेवाको बारेमा जानकारी फैलाउने काम भइरहेको कार्यालय प्रमुख घिमिरेले बताए ।

 

सेवाग्राहीमा ओरेन्टेसन कार्याक्रम भइरहेको उनले जानकारी दिए । ‘एकै चोटी परिवर्तन हुँदैन बिस्तारै सबैमा सचेतना बढेपछि डिजिटलाइनको आभास सेवाग्राहीमा चाडै देखापर्ने छ अहिले ओरेन्टेसन कार्याक्रम गरिरहेका छाैँ,’ घिमिरेले भने । पछिल्लो समय सिस्टम टेस्टिङको रुपमा काम भइरहेको उनले जानकारी दिए । सेवाग्राहीले अनलाइबाट १० वटा परमिट पुरा गरेर आफ्नै पासवर्ड राखे अनलाइनबाटै घरमा बसि आफ्नो जग्गा किनबेचको तथा दर्ताको काम गर्न सक्ने उनको भनाई छ ।

 

सक्षम सेवाग्राहीको कमीकै कारण डिजिटल सेवाको अनुभुती गर्न नसकेको उनले बताए ।  ‘प्राय सबै जसो काम सक्षम सेवाग्राहीहरुले आफै अनलाइनबाट गरेर ल्याउन सक्नुहुन्छ तर, असक्षम सेवाग्राहीहरु धेरै भएकाले त्यसमा अलि समय लाग्ने भएको हो,’ घिमिरेले भने ।

 

डिजिटलाइजपछि सरकारले गर्न सक्ने कामः

 

डिजिटलाइज पछि मालपोत कार्यालयहरुमा जग्गा तथा जग्गाधनीको तथ्यांक विभागको एउटै सर्भरमा रहने छ । घरजग्गा बिक्री वितरणबाट संकलन हुने राजश्वमा चुहावट समेत हुने छैन । यस व्यवस्थाले घरजग्गाको स्वामित्वमा हुने किर्ते कारोवारमा समेत कमि आउने अनुमान गरिएको छ ।

 

जग्गाका हदबन्दी कार्यक्रमहरु कार्यान्वयनमा यस प्रविधिले सहजता ल्याउने छ । सो व्यवस्थाले मालपोत कार्यालयमा हुने गरेका  बीचौलीयाहरुको सहभागीताको अन्त्य गरेको छ । यस अघि अनुगमन तथा निरिक्षणका लागि त्यही ठाउँमा पुग्नु पर्थ्यो भने अब अनलाइनबाटै निरिक्षण गर्न सकिने छ भने कार्यालयमा हुने हरेक कृयाकलापलाई सिधै मन्त्रालयको तहबाट सिसिक्यामेरा मार्फत दैनिक अनुगमन समेत गर्न सकिने छ ।

 

डिजिटलाइज पछि सेवाग्राहीले लिन सक्ने फाइदाः

 

डिजिटलाइज पछि घरजग्गा धनीको औठाँछाप, दस्तखत तथा फोटो विद्युतीय उपकरणका माध्यमबाट हुनेहुन्छ । यसले गर्दा घरजग्गा किनबेच गर्दा भेरिफाई गर्नुपर्ने हुन्छ । यसो गर्दा घर तथा जग्गा हस्तान्त्रण हुँदा निवेदन तथा लिखित स्वीकृत हुनु अघि सो विषयमा घरजग्गाधनीलाई एसएमएस तथा इमेल आउने छ ।

 

यसले गर्दा कुनै तरिकाले गलत धारणाका साथ कसैले जग्गाको नकल गरि विक्री वितरणको कोसिस गरेमा घर जग्गाधनीले सिधै जानकारी पाउने छन् । यस्तै जग्गाधनीले आफ्नो नाममा रहेको घरजग्गाको विवरण https://lrims.dolrm.gov.np  मार्फत अनलाइनमै हेर्न मिल्ने छ ।

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा Read Previous

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

बुधबारदेखि अवरुद्ध सुबिसुको सेवा सुचारु Read Next

बुधबारदेखि अवरुद्ध सुबिसुको सेवा सुचारु