काठमाडौं । डेमोक्र्याटिक पार्टीका जो बाइडेन संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पेन्सलभेनिया राज्यमा विजयी भएसँगै बाइडेन आगामी चार वर्षका लागि राष्ट्रपति हुने निश्चित भएको हो ।
उनले रिपब्लिकन पार्टीका उम्मेदवार अर्थात् वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गरेका हुन् । बाइडेनले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्ट्रोरल मत प्राप्त गरेसँग निर्वाचित भएका हुन् । यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ।
बाइडेनले अहिलेसम्म २९० इलेक्टोलर मत प्राप्त गरेका छन् भने ट्रम्पले २१४ इलेक्ट्रोलर मत प्राप्त गरेका छन् । अझै जर्जिया, नर्थ क्यारोलिना र अलास्का राज्यको मत परिणाम घोषण हुन बाँकी छ ।
त्यसैगरी डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस अमेरिकी इतिहासमा पहिलोपटक महिला उपराष्ट्रपति बनेकी छन् ।
बाइडेन बाराक ओबामाको कार्यकालमा सन् २००९ देखि २०१६ सम्म उपराष्ट्रपति थिए ।