काठमाडौं । भूमी व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री पद्म कुमारी अर्यालले घुष खानेलाई मन्त्रालयले कारवाही गर्ने बताएकी छन् । उनले घुष खानेको मात्र नभई घुष दिनेलाई समेत कारवाहीको दायरामा ल्याउने बताउँदै घुष लिने दिने दुबैलाई कारवाही गरिने बताएकी हुन् ।
सोमबार मालपोत कार्यालयको उद्घाटन कार्याक्रममा बोल्दै उनले घुष खानेलाई खुल्ला चुनौति दिएकी हुन् ।‘घुष खानेलाई मन्त्रालयले च्यापका च्याप समातेको छ, देखाई दिनुस म त खुल्ला च्यालेनज गर्छु, तपाईहरुले हामीलाई सहयोग गर्नु पर्छ,’ मन्त्री अर्यालले भनिन् ।
सोचाइमा भएका विकृतीहरु हटाएर काम गर्न तिर मन्त्रालय लागेको उनले बताइन् । उनले अबको समयमा मालपोतमा फेरि कुनै नेपाली जनता नठगिने बताइन् । पारदर्शी सेवाका साथमा सुरु भएको मालपोत कार्यालयका कामहरु अबको दिनमा मालपोतका कामहरु सबै डिजिटलाइज गरिने बताइन् ।
रेकर्डका ढड्डाहरुलाई सुरक्षित गरेर राख्ने दायित्व सरकारको भएको र त्यसको स्क्यानीङमा सरकार लागेको उनले जानकारी दिइन । अहिले ६२ कार्यालयको स्क्यानीङका लागि करार नियुक्त गरिएको उनले बताइन ।
सबै मालपोत कार्यालयहरुका डकुमेन्टहरु भोलीको समयमा डिजिटलाइज भएपछि पेन्ड्राइभमा लगेर स्थानीय तहलाई सुम्पिने उनले बताइन् । मालपोतका समस्या दिन प्रतिदिन बढ्दो भएकाले यसलाई व्यवस्थीत गरेर स्थानीयमा सुम्पिने उनले जानकारी दिइन् ।
मालपोतको काम स्थानीयलाई सुम्पिए पछि मन्त्रालयको ७५ प्रतिशत समस्याको समाधान हुने उनले बताइन् । उनले नेपालमा भूमी को तथ्यांक एकिन नभएको हुनाले पूनः देशभर नापी गरिने बताएकी छन् ।
यस्तै मालपोत कार्यालयहरु डिजिटलाइज भएसँगै २५ वटा कार्यालयमा भू–सेवा केन्द्र स्थापना गरिएको उनले जानकारी दिइन् ।उनले चाँडै नै भूमि जानकारीका लागि भूमि सूचना केन्द्रको समेत स्थापना गरिने बताइन् ।
हाल बेलका नगरपालीका र भरतपुर नगरपालीकामा भूमि सूचना केन्द्रको स्थापना गर्ने कार्य सुरु गरिएको उनले जनाकारी दिइन् ।