जब ४० करोड पर्ने दुर्लभ पुस्तक घरमुनि गाडिएको अवस्थामा फेला परे…

लन्डनस्थित एउटा गोदामबाट चोरिएका झन्डै ४० करोड रुपैयाँ मूल्य बराबरका २०० वटा ‘अप्राप्य’ पुस्तकहरू रुमेनियाको गाउँमा एउटा घरमा भुइँमुनि गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

 

ती पुस्तकमध्ये केही ग्यालिलियो तथा आइज्याक न्यूटनले लेखेका कृतिका प्रथम संस्करणहरू पनि छन्।ती पुस्तकहरू सन् २०१७ को ज्यानुअरी महिनामा चोरहरूले फेल्टमको गोदामबाट चोरेका थिए।

 

सेन्सरबाट जोगिन चोरहरू स्टोरको छानाबाट छिरेर डोरीको सहायताले तल ओर्लिका थिए।ती चोरहरू सङ्गठित रुमेनियाली आपराधिक गिरोहका सदस्य भएको पत्ता लागेको थियो।

 

लन्डनको मेट्रोपोलिटन प्रहरीको विज्ञप्तिमा ती गिरोह यूकेभरि मूल्यवान् वस्तुहरूको चोरीमा संलग्न भएको उल्लेख गरिएको छ।

 

बुधवार उत्तरपूर्वी रुमेनियाको नियम्ट क्षेत्रमा रहेको एउटा घरमा खानतलासी गर्दा ती पुस्तक भुइँमुनि लुकाइएको अवस्थामा अधिकारीहरूले भेटेका थिए।

 

अनुसन्धानकर्ताहरूका अनुसार ती पुस्तक फेला पार्न सन् २०१९ को जुन महिनामा यूके, रुमेनिया तथा इटलीका ४५ वटा ठाउँमा छापा मारिएको थियो।

 

तेह्र जनामाथि चोरीको अभियोग लगाइएको थियो। तीमध्ये १२ जनाले आफ्नो संलग्नता स्वीकारेका थिए।

 

कस्ता पुस्तक छन्

 

चोरी भएका सामग्रीमध्ये दाँतेका दुर्लभ पुस्तक र स्पेनी चित्रकार फ्रान्सिस्को डि गोयाका चित्रहरूका साथै १६ औँ तथा १७ औँ शताब्दीका ग्यालिलियो एवम् आइज्याक न्यूटनका पुस्तक थिए।

 

ूयी पुस्तकहरू अत्यन्त मूल्यवान् छन्। यिनको विकल्प छैन। यी पुस्तक अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदाको निम्ति धेरै महत्त्वपूर्ण छन्,ू मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ इन्स्पेक्टर एन्डी डरमले बताए।

 

अमेरिकाको लस भेगसमा हुन लागेको विशेष पुस्तक मोलमोलाइ कार्यक्रमका निम्ति ओसार्न ठिक्क पारिएको बेला ती पुस्तकहरू हराएका थिए।

 

हेथ्रो विमानस्थलनजिकै अवस्थित फेल्टममा भएको गोदामको छाना काटेर चोरहरूले डोरीमार्फत् ४० फिट तल ओर्लिएर चोरी गरेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ।

माछापुच्छ्रे बैंक र भारतको ओम एक्सप्रेस पेमेन्ट बीच रेमिट्यान्स सम्झौता Read Previous

माछापुच्छ्रे बैंक र भारतको ओम एक्सप्रेस पेमेन्ट बीच रेमिट्यान्स सम्झौता

संकटको बेलामा पनि अर्थ मन्त्रालय प्रधानमन्त्रीकै गोजीमा, अर्थतन्त्रमा कस्तो पर्छ असर Read Next

संकटको बेलामा पनि अर्थ मन्त्रालय प्रधानमन्त्रीकै गोजीमा, अर्थतन्त्रमा कस्तो पर्छ असर