अस्ट्रेलियाले कोरोनाको खोप सबैलाई निःशुल्क दिने

अस्ट्रेलियाले छिटै तयार हुने आशा गरिएको कोरोना भाइरस विरुद्धको खोप आफ्ना नागरिकका लागि निःशुल्क दिने जनाएको छ। त्यो खोप औषधि कम्पनी आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका छन् र अहिले परीक्षणको क्रममा छ।

 

प्रधानमन्त्री स्कट मरिसनले परीक्षण सफल भएमा आस्ट्राजेनेकासँगको सम्झौताले हरेक अस्ट्रेलियालीका निम्ति खोप सुरक्षित हुने बताए। उनका अनुसार अढाई करोड जनसङ्ख्यालाई निःशुल्क खोप उपलब्ध गराउन सक्ने गरी उक्त कदम उठाइएको छ।

 

सबैलाई निःशुल्क

 

प्रधानमन्त्री मरिसनले भने, ‘यो खोपको परीक्षण सफल भयो भने त्यसको उत्पादन र आपूर्ति गरेर अढाई करोड अस्ट्रेलियालीका निम्ति निःशुल्क गर्नेछौँ।’ तर सबै जनसङ्ख्यामा खोप पुर्‍याउन लाग्ने खर्चको अनुमान अझै निश्चित भइसकेको छैन।

 

कोरोना भाइरसबाट अस्ट्रेलियामा ज्यान गुमाउनेको सङ्ख्या करिब साढे ४०० मा अडिएको छ। यो महिनाको सुरुमा भिक्टोरिया राज्यले कोरोनाभाइरसको सङ्क्रमण फेरि देखिएपछि लकडाउनका कडा प्रतिबन्धहरू लागू गर्दै राज्यस्तरीय विपद्को घोषणा गरेको थियो।

 

अस्ट्रेलियामा अझैँ पनि ७,००० सक्रिय सङ्क्रमित छन्। जसले त्यहाँ खराब अवस्था आउने चिन्ता जीवित राखेको छ। अक्सफोर्ड र आस्ट्रजेनेका खोप परीक्षणमा पुगेका पाँच महत्त्वपूर्ण प्रयासमध्ये एक हो।

 

जसलाई विश्वभरिका देशहरूले आफ्ना नागरिकको निम्ति सुरक्षित राख्न चाहिरहेका छन्। बीबीसी

उपत्यकाका थप तीन स्थानमा ट्राफिक बत्ती सञ्चालनमा Read Previous

उपत्यकाका थप तीन स्थानमा ट्राफिक बत्ती सञ्चालनमा

माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशन बीच व्यवसायिक सम्झौता Read Next

माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशन बीच व्यवसायिक सम्झौता