काठमाडौं । भेहिकल ट्रयाकिङ सिस्टम विरुद्ध आज व्यवसायीले आन्दोलन गर्ने घोषणा गरेका छन् । राजश्व विभागले नयाँ आर्थिक वर्षबाट भेहिकल ट्रयाकिङ सिस्टम मार्फत अनुगमन गर्ने नीति ल्याएको हो ।
सोही नीति लागू हुने भएपछि व्यापारीले भ्याट छली गर्न नपाउने अनुमान गरिएको छ । यसले गर्दा छली हुने राजश्व समेत राज्यको ढुकुटिमा जम्मा हुने उद्देश्य सहित यो सिस्टम कार्यान्वयनमा ल्याउने तयारी भएको छ ।
राजश्व अनुसन्धान विभागले असार १ गतेदेखि यसलाई परीक्षणको रुपमा लागू गरेको थियो भने । साउनदेखि पूर्णरुपमा कार्यान्यनमा ल्याइएको छ । सोही नीति लागू भए लगत्तै व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् ।
यो सिस्टम लागू भएपछि राजश्व अनुगमन सहज हुनुका साथै व्यवसायीहरुलाई समेत सहजिकरण हुने अनुमान गरिएको थियो । सो सिस्टमले ढुवानी लागत घटाउनुका साथै आर्थिक कारोबारलाई पारस्परिक बनाउने अपेक्षा गरिएको छ ।
भेहिकल ट्रयाकिङ सिस्टम लागू गरेपछि ठाउँ–ठाउँमा राखिएको चेकपोष्ट हटाउने र जुनसुकै ठाउँमा आकष्मिक चेक जाँच गर्न सकिने विभागले जनाएको छ ।यस सिस्टमको प्रयोगले तथ्याङ्क र सूचनामा सबै प्रयोगकर्ताको पहुँच पुग्ने छ ।
ट्रयाकिङ सिस्टम मार्फत भन्सार विभाग र आन्तरिक राजश्व कार्यालयको डाटा कम्प्यूटर प्रणालीमा आवद्ध हुने छ । सिस्टमको प्रयोगबाट कुन ढुवानीको सवारी कहाँबाट हिड्यो, कहाँ पुग्यो , कहाँ रोक्यो, कसले गुडाई रहेको छ देखि सबै जानकारी सहजै पाउन सकिने छ ।
ट्रयाकिङ सिस्टमको लागू सँगै आन्तरिक ओसार पसार निर्वाद रुपमा गर्न सकिने, राजश्व अनुसन्धान चेकपोष्ट स्वत हट्ने, विलविजनको बुझाउने झन्झटिलो प्रकृयाको अन्त्य हुनेछ ।
विभागका अनुसार झण्डै ७ अर्ब नक्कली बिल बजारमा प्रयोग हुने गरेका छन् । व्यवसायीले आफ्नो नाफा मार्फत १३ प्रतिशत भ्याट तिर्नु पर्ने हुन्छ । जस अनुसार ४ अर्ब भन्दा बढि राजश्व चुहावट हुने गरेको विभागले जानकारी दिए दिएको छ ।
राजश्व चुहावटको कसुरमा २ सय ३८ व्यक्तिहरु उपर विगो र जरिवाना वापत् १८ अर्ब ३२ करोड रुपैयाँ एवं ३ वर्ष सम्मको कैद मागदावी गरिएको विभागले जानकारी दिएको छ ।