काठमाडौं । प्रधानसेनापतिका दाबेदार उपरथी प्रभुराम शर्मा रथीमा बढुवा भएका छन्। वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई रथीमा बढुवा गरेको रक्षा मन्त्रालयले बताएको छ।
सैनिक ऐनअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाको सिफारिसमा शर्माको बढुवाको लागि रक्षा मन्त्रलायमा पेस भएको थियो। यसअघि बलाधिकृत रथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले शर्माको नाम रथीमा सिफारिस गरेको थियो ।
नेपाली सेनाको युद्धकार्य महानिर्देशकको समेत जिम्मेवारी सम्हालिसकेका उपरथी शर्मा हाल सम्भाररथी विभागको प्रमुख छन् ।सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले भारतबाट ‘नेशनल डिफेन्स कोर्स’ (एनडिसी) गरेका छन् ।
नेपाली सेनामा दुई रथी रहने प्रावधान छ। दोश्रो वरियतामा रहेका रथी (बलाध्यक्ष) गौरव तण्डुलले उमेर हदका कारण वैशाख १९ बाट अनिवार्य अवकाश पाउँदैछन्। वैशाख १९ गते तण्डुलको अवकास भएपछि शर्माले रथीको कार्यभार सम्हाल्ने सैनिक स्रोतले बतायो।
त्यस्तै सेनामा पहिलो वरियतामा रहेका रथी (बलाधिकृत) शरद गिरीले असार पहिलो साता उमेर हदका कारण अनिवार्य अवकास पाउँदैछन्।गिरीले अवकास पाएसँगै शर्मा असारबाटनै पहिलो वरियताका रथी बन्नेछन्।
शर्माको रथीको दुई वर्षे पदावधी २०७८ पुष सम्म कायम रहनेछ । हालका प्रधानसेनापति पूर्णचन्द्र थापा शर्माभन्दा ४ महिनाअघि २०७८ भदौमा नै अनिवार्य अवकासमा जाने भएपछि शर्मा अब सेनापति बन्ने पक्का भएकाे हाे ।
श्री पूरानो गोरख गणका गणपति समेत रहेका शर्माले नम्बर ६ बाहिनी अड्डा बैरेनी तथा मध्य पृतना हेडक्वाटर सुपारिटार ब्यारेक हेटौँडा कमाण्ड गरिसकेका छन् ।नेपाली सेनामा स्वच्छ छवि बनाएका शर्मा कंगोमा शान्ति सेना मिसनको कमाण्ड सफलतापूर्वक सम्हालिसकेका अधिकृत हुन् ।
हाल कोरोनाको महामारीबाट बच्न सावधानीस्वरुप सरकारले खरिपाटीमा निर्माण गरेको क्वारेन्टाईनमा सुरक्षादेखि सरसफाइसम्मका पूर्वाधार व्यवस्थापनमा पनि उनैको नेतृत्वमा नेपाली सेना खटेको थियो ।
यस्तै,नेपाली सेनाले १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर बराबरको (२ अर्ब २० करोड रुपैयाँ बढी) स्वास्थ्य सामग्री खरिद गर्न चिनियाँ कम्पनी ‘चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसन’सँग सम्झौता गरेको गरेको छ । यो प्रक्रिया पनि उनैको नेतृत्वमा हुँदैछ ।
स्वच्छ छवी, ईमान्दार, सरल व्यक्तित्वका अधिकृतको परिचय बनाएका शर्माले प्रधानसेनापति पूर्णचन्द्र थापाकाे आह्वानमा स्वेच्छिक रूपमा सम्पित्त सार्वजनिक गरेका छन् । काठमाडाैं सीतापाइलाका स्थायी वासीन्दा शर्माकाे श्रीमती र दुई छोरी छन् ।