सर्वसाधारणको चाप हुने स्थानमा सेनिटाइज टनेल विस्तार गरिँदै

गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिने उद्देश्यका साथ सेनिटाइज टनेल विस्तारलाई प्राथमिकतामा राखिएको छ ।

 

मानिसको हातमा मात्रै लगाउने गरिएको सेनिटाइजका विकल्पमा पूरै शरीर नै सेनिटाइज गर्ने गरी हालसम्म पोखराका पाँच स्थानमा सेनिटाइजर टनेल स्थापना गरी सञ्चालनमा आइसकेको छ ।

 

पोखरा महानगरपालिकाबाट शुरु गरिएको सेनिटाइज टनेल राख्ने कार्य यसबीचमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, जिल्ला प्रहरी कार्यालय कास्की तथा कास्की र तनहुँको सीमास्थित मजुवामा स्थापना गरिसकिएको छ ।

 

महानगरपालिकाभित्र आवश्यकतानुसार बढी सर्वसाधारणको चाप हुने स्थानलाई लक्षित गरी प्राथमिकताका आधारमा सेनिटाइज टनेल विस्तार गरिने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए।

 

‘उपचारको विधि पत्ता नलागेका अवस्थालाई ख्याल गर्दै बन्दाबन्दी गरिएको हो,’ उनले भने, ‘सङ्क्रमण फैलिन नदिनका लागि ठाउँ ठाउँमा सचेत बन्नुपर्ने अवस्थालाई दृष्टिगत गरी यसको रोकथामका लागि टनेल बिस्तार गरेका हौँ ।’

 

साबुनपानीले हात धोएर सेनिटाइज लगाउँदा हात मात्रै सङ्क्रमण मुक्त हुने भएका अवस्थामा टनेलको प्रयोगसँगै पूरै शरीर नै सेनिटाइज हुने बताउँदै उनले यी मेसिनहरूमा विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।

 

यसैबीच आइतबार पोखरा महानगरपालिकाको सहयोगमा वडा नं ९ शान्तिवनस्थित कृषि उपज बजार केन्द्रमा सेनिटाइज टनेल राखिएको छ । पोखरा विश्वविद्यालयका प्राविधिकले तयार गरेको यो टनेलको मूल्य १ लाख छ ।

 

विश्वविद्यालयका इन्जिनियर विनोद भट्टराईका अनुसार यो मेसिनमा स्वचालित स्प्रे रहेको छ । यो मेसिनका लागि निरन्तर सञ्चालनका लागि विद्युत् अपरिहार्य भएका कारण विद्युत्को विकल्प पनि सोच्नुपर्ने आवश्यकता औँल्याए।

 

पोखराकै तरकारी एवं फलफूलको मुख्य बजारका रुपमा रहेको यहाँ दैनिक एक हजारभन्दा बढी सर्वसाधारण आवतजावत गर्ने गरेको बजार व्यवस्थापन समितिका सदस्य विष्णु बाँस्तोलाले जानकारी दिए ।

 

उनका अनुसार ४६ रोपनी क्षेत्रफलमा विस्तारित केन्द्र परिसरमा १५० वटा पसलकवल छन् । जसमध्ये ६३ वटामा फलफूल, ६५ वटामा तरकारी, नौवटामा कृषकका स्थानीय तरकारी तथा फलफूलजन्य उत्पादनका पसल र १३ वटा आलु प्याजका पसल रहेका छन् । यस केन्द्रमा स्थानीय उत्पादनसँगै मित्रराष्ट्र भारत र नेपालका धादिङ, चितवन, पालुङ, सर्लाहीको लालबन्दीलगायतका स्थानबाट तरकारी तथा फलफूल आउने गर्छ ।

 

सर्वसाधारणको अत्यधिक आवतजावत हुने उक्त केन्द्रमा राखिएको टनेलले मानिसको पूरै शरीरलाई सेनिटाइज गर्छ । टनेलबाट छिरेसँगै मेसिनले कपडामा भएको भाइरसलाई समेत मार्ने काम गर्छ । कोरोनाको महामारी लम्बिन सक्ने भएकाले सावधानी र प्रविधिबाट यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औंँल्याउँदै महानगर प्रमुख जिसीले भीडभाड हुने सरकारी कार्यालय, अस्पताल, डिपार्टमेन्ट स्टोर्सलगायतमा पनि टनेल जडान गर्नुपर्ने उल्लेख गरे ।

 

पोखरा विश्वविद्यालयको नेपाल इनोभेसन टेक्नोलोजी एण्ड इन्टरप्रेनियरसिपका रवि भण्डारी, विनोद भट्टराई, विनोद गिरी, सरोज कोइरालाको समूहले टनेल निर्माण गरेका हुन् भने महानगरमा नेपाल इन्जिनिरिङ एशोसिएसन गण्डकीको टिमले निर्माण गरेको हो ।रासस

नबिल बैंकले ल्यायो ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ’ सेवा Read Previous

नबिल बैंकले ल्यायो ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ’ सेवा

१ महिनादेखि बन्द रहेको हुलाकी सडकको निर्माण शुरु Read Next

१ महिनादेखि बन्द रहेको हुलाकी सडकको निर्माण शुरु