कोरोना भाइरसका खोप र औषधि माथि यसरी भइरहेका छन् परीक्षणहरु
दीपक अधिकारी
प्रकाशित : 4:23 pm, बिहीबार, चैत २७, २०७६

विश्वभरिका अधिकांश देशमा नै यतिखेर बन्दाबन्दी (लकडाउन) भइरहेको छ । हामीले अरुबेला सामान्य मान्ने यातायात, हिँडडुल र भेटघाटमा बन्देज लगाइएको छ । विश्वभरि नै कोभिड–१९ बाट संक्रमित हुने र मर्नेको संख्या बढ्दो छ । आम मानिसमा यसको रोकथाम र औषधोपचार प्रयासको बारेमा जिज्ञासा छ । हालसम्म औषधि वा खोप नभएको यस रोगलाई निको पार्ने भन्दै अनेकथरि उपचारको प्रचारसमेत गरिएको छ । तर ती कुनै पनि प्रमाणित होइनन् ।

 

यसै सन्दर्भमा हामीले अहिलेसम्म भइरहेका खोप बनाउने र औषधि पत्ता लगाउने प्रयासबारे एक जानकारीमुलक सामग्री तयार पारेका छौँ ।

 

खोपसम्बन्धी अनुसन्धान के भइरहेको छ ?

 

यतिखेर कोभिड–१९ को रोकथामका लागि दुईखाले उपचार विधिको परीक्षण भइरहेको छ । पहिलो नितान्त नयाँ उपचार विधि हो भने दोस्रो अहिले प्रयोगमा रहेका औषधि र खोप माथिको अनुसन्धान । चीनले बेलैमा कोरोना भाइरसको आनुवंशिक अनुक्रम वैज्ञानिकहरुलाई उपलब्ध गराएकाले खोपको विकासमा सहयोग पुगेको हो ।

 

बेलायतको पत्रिका द गार्जियनका अनुसार करिब ३५ वटा कम्पनी र प्राज्ञिक संस्थाहरु खोप बनाउन युद्धस्तरमा लागिपरेका छन् । तीमध्ये चारले यस रोगको सम्भावित खोपको जनावरमा परीक्षण गरिसकेका छन् । सबैभन्दा पहिला परीक्षण गर्ने अमेरिकाको बस्टनस्थित मोडेर्ना कम्पनीले नै मान्छेमाथि परीक्षण शुरु गरिसकेको छ ।

 

यसको शुरुवाती प्रक्रिया छिटो भएपनि खोपको मान्छेमा परीक्षण र यसको व्यापारिक उत्पादनका लागि प्रक्रिया पुरा गर्नुपर्ने प्रक्रिया लामो भएको विज्ञहरुको भनाइ छ । कोभिड–१९ को खोप प्रयोगमा आउन कम्तिमा १ वर्षदेखि १८ महिनासम्म लाग्ने विज्ञहरु बताउँछन् ।
‘यसको चरणबद्ध परीक्षण हुन्छ । पहिलो चरणमा जनावरमाथि परीक्षण गरिन्छ । त्यसपछि मानिसको सानो समुहमा गरिन्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले बताए ।

 

‘त्यसपछि यसको परीक्षण समुदायमा गरिन्छ । मुख्य कुरा खोपको सफलताको दर कस्तो हुन्छ भन्नेमा खोप कति प्रभावकारी हुन्छ भन्ने भर पर्छ’, उनले भने ।

 

विभिन्न देशका स्वास्थ्यसम्बन्धी निकायले स्वीकृति दिएपछि मात्र त्यस्तो खोपलाई आम मानिसका लागि प्रयोग खुल्ला गरिने उनले बताए । पुनका अनुसार भारतले कोभिड–१९ को खोप उत्पादन गर्यो वा ‘प्याटेन्ट’ (प्रतिलिपि अधिकार) लिएर बनायो भने नेपालमा सहज रुपमा उपलब्ध हुनसक्छ ।

 

न्यु योर्कर पत्रिकाको एक आलेखका अनुसार नर्वेको ओस्लोमा रहेको कोअलिसन अफ इपिडेमिक प्रिप्यर्डनेस इनोभेसनले कोभिड–१९ विरुद्ध खोपको विकासमा सहयोग पुर्याइरहेको छ । उक्त लेखमा उद्धृत गरिएकी संस्थाकी एक निर्देशक रेचल ग्रान्टले खोप बनाउने चुनौती सामना गर्न वैज्ञानिकहरु तयार भएपनि महामारी घट्दै गए बजारको कमी हुने र शोध र विकासमा पछि परेका विकासोन्मुख देशलाई समस्या हुनसक्ने बताएकी छन् ।

 

क्षयरोग विरुद्धको खोप (बीसीजी) कोभिड–१९ को उपचारमा प्रभावकारी हुनसक्छ ?

 

करिब एक शताब्दी अघि युरोपमा क्षयरोग विरुद्ध लड्न विकास गरिएको र करिब ४० वर्षदेखि नेपालमा लगाउन थालिएको बीसीजी (अर्थात बसिलस क्याल्मेन्ट गेरन) क्षयरोग बाहेकका रोग विरुद्ध पनि प्रभावकारी हुनसक्छ भन्ने केही अनुसन्धानमा देखिएको छ ।

 

दुई फ्रान्सेली डाक्टरले पत्ता लगाएको यो खोप गाईमा लाग्ने क्षयरोगबाट बनाइएको हो । युरोपमा पत्ता लागेपनि यो खोपको बढी प्रयोग एसियाली र अफ्रिकी देशमा भएको छ । अस्ट्रेलिया र नेदरल्याण्डका वैज्ञानिकहरुले यसमाथि परीक्षण गरिरहेका छन् ।

 

‘बिसीजी खोप लगाइएका देशमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या कम छ । त्यसैले यसले गर्दा हो कि भन्ने अनुमान छ,’ डा पुनले भने । तर अहिलेसम्म यस सम्बन्धी अनुसन्धान कुनै पियर रिभ्युड जर्नलमा नछापिएकोले यो प्रश्नकै रुपमा मात्र रहेको उनले बताए ।

 

अर्बुद रोग विशेषज्ञ प्रकाश थपलियाले यस खोपले मानिसमा अन्य रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ कि भन्ने वैज्ञानिक अनुमान मात्र रहेको आफ्नो हालैको पडकाष्टमा बताएका छन् । ‘यसलाई प्रमाणको रुपमा लिइहाल्नु उपयुक्त हुँदैन । बीसीजी जीवित जीवाणु भएको खोप भएकोले कतिपय मानिसलाई यसले उल्टै क्षयरोग लगाउन पनि सक्छ,’ उनले भनेका छन् ।

 

बीसीजी खोप लिँदैमा आफु सुरक्षित भएको ठान्नु हतार हुने उनको सुझाव छ । भन्छन्, ‘कोभिड–१९ का विरामीको फोक्सोले काम गर्दैन । यो भाइरससँग लड्ने क्रममा हाम्रो शरीरले विभिन्न रसायनहरु निकाल्छ जसले हाम्रो फोक्सोलाई क्षति पुर्याउँछ । कतै यो प्रक्रिया बढ्न गई थप हानि हुने हो कि भन्ने शंका छ’

 

बीसीजी एउटा अचुक अस्त्र हो भनेर कसैले पनि नभनेको तर संक्रमित स्वास्थ्यकर्मी निको भएर चाँडै काममा फर्किउन भन्ने उद्देश्यले यसको परीक्षण गरिएको अस्ट्रेलियाली सरुवा रोग विशेषज्ञ निगेल कर्टिसले न्यु योर्क टाइम्सलाई बताएका छन् ।

 

अमेरिकाको बस्टनका एक चिकित्सकले पनि स्वास्थ्यकर्मीमा यसको परीक्षणका लागि पैसा खोजिरहेको र त्यो उपलब्ध भए चार महिनामा प्रारम्भिक नतिजा आउने न्यु योर्क टाइम्सको उक्त आलेखमा जनाइएको छ ।

 

कुन कुन औषधि माथि भइरहेको छ परीक्षण ?

 

विश्व स्वास्थ्य संगठनले ‘सोलिडारिटी ट्रायल’ नाम दिएर चारवटा सम्भावित औषधिको विश्वव्यापी परीक्षण शुरु गरेको छ । तीमध्ये इबोलाको औषधि रम्डेसिभीर, मलेरियाको उपचारमा प्रयोग गरिने क्लोरोक्वीन र हाइड्रोक्सीक्लोरोक्वीन, एचआइभी विरुद्धको औषधि लपीनभीर र रितोनभीर अनि ती दुईको मिश्रणसहित इन्टरफेरोन–बेटा पर्दछन् ।

 

त्यसैगरी जापानको फुजीफिल्म अन्तर्गतको कम्पनीले रुघाखोकी लाग्दा सेवन गरिने अभिगन नामक औषधिको समेत परीक्षण शुरु गरेको छ । कुनै पनि नयाँ रोग देखापरेपछि त्यसको दबाई खोज्न वैज्ञानिकहरु लागिपर्नु स्वाभाविक भएपनि अन्ततः खोप नै यसलाई रोक्ने उत्तम उपाय भएको डा पुन बताउँछन् ।

 

‘यसले पो हुन्छ कि त्यसले पो हुन्छ कि भनेर खोजी भइरहेका छ तर यही नै औषधि हुनसक्छ भन्ने यकिन छैन,’ उनले भने । हालसम्म यसका सबै उपचार लक्षणमा आधारित भएकाले कसैलाई दुखाई कम गर्ने कसैलाई के औषधि दिने गरिएको उनले बताए । उपचार विधि पत्ता लगाउन ‘गोल्ड स्ट्याण्डर्ड’ मानिने ‘र्याण्डमाइज कन्ट्रोल्ड ट्रायल’ भन्ने परीक्षण बिना सही विधि पत्ता नलाग्ने उनको भनाइ छ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्वीन कोभिड–१९ का लागि उपयुक्त हुने भनी प्रचार गरेपछि यो औषधि चर्चामा आएको हो । द न्यु योर्क टाइम्सको एक खोजमुलक लेखमा उक्त औषधि उत्पादन गर्ने एक कम्पनीमा ट्रम्पको शेयर भएकोले उनले त्यसको पैरवी गरेको हुनसक्ने जनाइएको छ । उक्त औषधि ठूलो परिमाणमा उत्पादन गर्ने भारतले केहीअघि त्यसको निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर अमेरिकी राष्ट्रपतिको चेतावनीपछि उसले प्रतिबन्ध फुकुवा गरेको छ ।

southasiacheck.org बाट साभार 

Advertisement Section