चीनले गत जनवरी महिनायता पहिलो पटक कोरोना भाइरसको कारणले एउटा पनि मृत्यु नभएको जनाएको छ ।
आज मंगलबार नेशनल हेल्थ कमिशनले चीन भर ३२ वटा नयाँ संक्रमित फेला परेको तथ्यांक सार्वजनिक गरेको छ । यी सबै संक्रमितहरु विदेशबाट आएका कमिशनले जनाएको छ । संक्रमितहरु नयाँ भेटिए पनि चीनमा कोरोनाको कारणले मृत्यु नभएको गत जनवरी पछिकै यो पहिलो अवसर हो ।
हाल विश्वमा १३ लाख भन्दा बढि संक्रमितहरु फेला परेका छन् भने झण्डै ७५ हजारको कोरोना भाइरसको कारणले मृत्यु भइसकेको छ ।
गत महिना देखि भाइरसको उद्धगम स्थल मानिएको चीनको युआन सहरमा अधिकारीहरुले लकडाउनलाई केही खुकुलो पार्न थालेका छन् ।
संक्रमितहरुको संख्यामा गिरावट आउन थालेसँगै अधिकारीहरुले ७ हजारवटा आवास क्षेत्रलाई कोरोना मुक्त घोषणा गर्दै दिनको २ घण्टा घर बाहिर निस्कन अनुमति दिएका थिए ।
हाल चिनीयाँ अधिकारीहरुले आफ्नो सम्पूर्ण ध्यान लक्षण नदेखिएका संक्रमणहरु तर्फ मोड्न थालेका छन् ।
चीनमा अहिलेसम्म ८१ हजार भन्दा बढि संक्रमितहरु भेटिएका छन् भने ३ हजार ३ सय भन्दा बढिले ज्यान गुमाएका छन् ।
चीनमा मार्च महिनाको शुरुवात देखिनै संक्रमणमा कमि आउन थालेको हो । तर, अन्य एसियाली राष्ट्रहरु झैं विदेशबाट आउने संक्रमितहरुको संख्या भने थपिइरहेको छ । हाल चीनमा विदेशीहरुको लागि प्रतिबन्ध लगाइएको छ ।