कोरोना कहर : दक्षिण एशियाली देशमा कस्तो छ अवस्था ?

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अहिले विश्वलाई नै आक्रान्त बनाएको छ । २०१९ को अन्त्यतिर चीनको वुहान सहरमा देखिएको यो भाइरस अहिले विश्वका २०८ देशमा फैलिसकेको छ ।

 

सोमबार बिहानसम्ममा १२ लाख ७४ हजारसंक्रमित भएका छन् भने साढे ६९ भन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय कोरोनाको उद्गमस्थल चीनमा यसको प्रभाव कम हुँदै गए पनि अमेरिका, इरान, इटाली, स्पेन, फ्रान्स, वेलायत लगायत देशमा डढेलो सरी फैलिरहेको छ ।

 

कोरोनाबाट दक्षिण एसियाली देशहरु पनि अछुत रहन सकेका छैनन् । अमेरिका र यूरोपियन देशहरुमा जस्तै भयावह अवस्था नरहे पनि यसको संक्रमण बढ्दो क्रममा छ ।

 

दक्षिण एशिएका नेपाल, भुटान र माल्दिभ्स बाहेक अन्य देशमा कोरोना भाइरसका कारण मानिसको मृत्यु समेत भइसकेको छ । दक्षिण एशियाली देशमा अहिलेसम्म ८ हजार २३० जना संक्रमित भएका छन् भने १८९ जनाको मृत्यु भइसकेको छ । अहिले नेपाल र भारतमा लकडाउन जारी छ भने अन्यदेशमा स्वास्थ्य आपतकाल घोषणा गरिएको छ।

 

यस्तो छ दक्षिण एशियाली देशहरुको पछिल्लो अवस्था :

 

नेपाल

 

नेपालमा हालसम्म ९ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्। एकजना उपचारपछि निको भएर घर फर्केका छन् भने अन्य आठको उपचार भइरहेको छ।

 

अहिले काठमाडौं उपत्यकासहित सुदूरपश्चिम र गण्डकी प्रदेशमा कोरोना संक्रमित भेटिएका छन् । अहिलेसम्म देशभरबाट संकलन गरिएका करिब १६ सय नमूना परीक्षण गर्दा ९ जनामा मात्र कोरोना पोजेटिभ देखिएको छ ।

 

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले पहिलो चरणमा चैत ११ गतेदखि १८ गतेसम्म लकडाउन घोषण गरेको थियो भने दोस्रो चरणमा यसलाई लम्ब्याउँदै चैत २५ गतेसम्म कायम राखेको छ ।

 

भलै, अहिलेसम्म नेपालमा कोरोनाका कारण मानिसको मृत्यु भएको पुष्टि भएको छैन ।

भारत

 

दक्षिण एसियामा कोरोनाबाट सबैभन्दा प्रभावित देश हो भारत । कोरोनाका कारण भारतमा अहिलेसम्म ११८ जनाको मत्यु भइसकेको छ भने ४ हजार २८९ जनामा संक्रमण देखिएको छ । पछिल्लो सातामात्र भारतमा ३ हहारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

 

कोरोनाको संक्रमण फैलिन नदिन भारतले पनि गत बिहीबारदेखि २१ दिने लक डाउन घोषणा गरेको छ । संक्रमणको असर कम नभए उक्त लकडाउन अझै बढाउने सरकारको तयारी छ।

 

लकडाउन घोषणा गरेसँगै भारत सरकारले अर्थतन्त्र उकास्न तथा नागरिकको खानपिन लागि १ लाख ७० हजार करोड बराबरको राहत प्याकेज समेत ल्याइसकेको छ । करिब ८० करोड नागरिकलाई ३ महिनासम्म निशुल्क खाद्यान्न दिने घोषणा गरेको छ ।

 

पाकिस्तान

 

पाकिस्तान भारतपछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो। यहाँ ३ हजार १५७ जनामा संक्रमण देखिएको छ भने ४७ जनाको मृत्यु भइसकेको छ ।

 

प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै चीनसँग सहयोग मागेका थिए। चीनले केही स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएको छ।

 

बंगलादेश

 

बंगलादेशमा अहिलेसम्म ८८ जना कोरोना संक्रमित भेटिएको छ । बंगलादेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ। संक्रमितमध्ये ३३ जना उपचारपछि निको भइसकेका छन् ।

 

कोरोना भाइरसको संक्रमित सुरु भएसँगै बंगलादेशले सार्वजनिक यातायात र अन्तरिक उडानमा समेत रोक लगाएको थियो। आन्तरिक उडान र सार्वजनिक यातायात बन्द गरेपछि बंगलादेशमा नयाँ संक्रमित भेटिएका छैनन्।

 

श्रीलंका

 

श्रीलंकामा सोमबार बिहानसम्ममा कोरोना भाइरस संक्रमितको संख्या १७६ पुगेको छ भने ५जनाको मृत्यु भएको भइसकेको छ ।

 

श्रीलंकाका प्रधानमन्त्री गोतावे राजपाक्षले संक्रमित बिरामी देखिने बित्तिकै सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका थिए। आन्तरिक हवाई यात्रामा पनि रोक लगाएका थिए। त्यहाँ अनिश्चितकालीन कर्फ्यू कायम छ।

 

भुटान

 

दक्षिण एशियाली देशमध्ये भुटानमा सबैभन्दा कम संक्रमित रहेका छन् । भुटानमा अहिलेसम्म ५ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ जना उपचारपछि निको भइसकेका छन् । सुरुमा भारतबाट छिरेका एक व्यक्तिमा कोरोना देखिएपछि भुटानले सबै नाकाहरु बन्द गरेको थियो। अहिले भुटानमा नयाँ संक्रमित थपिएका छैनन्।

 

अफगानिस्तान

 

अफगानिस्तानमा ३४९ जनामा कोरोना संक्रमण देखिएको छ। ७ जनाको मृत्यु भएको छ भने १५ जना निको भइसकेका छन् ।पाकिस्तान र भारतसँग सीमा जोडिएका कारण अफगानिस्तानमा पनि संक्रमित बढ्ने सम्भावना रहेको भन्दै उसले सबै सीमानाका बन्द गरेको छ।

 

माल्दिभ्स

 

माल्दिभ्समा १९जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। हालसम्म त्यहाँ कसैको मृत्यु भने भएको छैन। संक्रमित १९ मध्ये १३ जना उपचारपछि निको भइसकेका छन् ।

नेपाल र भुटानबाहेक दक्षिण एशियाका ६ देशलाई विश्व बैंकको आर्थिक सहयोग Read Previous

नेपाल र भुटानबाहेक दक्षिण एशियाका ६ देशलाई विश्व बैंकको आर्थिक सहयोग

स्वास्थ्य सामग्री खरिद प्रक्रिया सरकारी र निजी क्षेत्रबाट एकसाथ अघि बढाइने Read Next

स्वास्थ्य सामग्री खरिद प्रक्रिया सरकारी र निजी क्षेत्रबाट एकसाथ अघि बढाइने