काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल कोरोना भाइरसको संक्रमण दोस्रो चरण (लोकल ट्रान्समिसन) मा प्रवेश गरेको जनाएको छ ।
शनिबार नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको संक्रमण एक व्यक्तिबाट पारिवारमा पनि पोजेटिभ देखिएको बताउँदै नेपालमा कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताए।
आज कोरोना पोजेटिभ देखिएकी कैलालीकी ३४ वर्षीय महिला यस अघि संक्रमित व्यक्तिको परिवारको सदस्य रहेको उनले जानकारी गराए । उनको ट्राभल हिस्ट्री समेत नभएकोले यो नै संक्रमित व्यक्तिवाट अर्को व्यक्तिमा सरेको पहिलो केश भएको उनले बताए ।
कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै उनले सबै जना सतर्क भएर बस्न आग्रह गरे । विदेशबाट फर्किएकाहरु अनिवार्य क्वारेन्टाइनमा बसेर सावधानीको सम्पूर्ण तयारी गर्न पनि उनले आग्रह गरे ।