काठमाडौं महानगरका ३२ वटै वडामा राहत वितरण शुरु, कति पाइन्छ राहत

काठमाडौं । काठमाडौं महानगरपालिकाले विश्वभरी फैलिएको कोभिड–१९बाट प्रभावित भएर दैनिक जीवन सञ्चालन गर्न समस्या भएकाका लागि  राहत सामग्री वितरण शुरु गरेको छ ।

 

महानगरपालिकाले विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार सङ्ख्याका आधारमा राहत उपलब्ध गराउन शुरु गरेको हो । राहत वितरणको पहिलो दिन बुधबारदेखि वडा नम्बर १५, ७, २, ५, १०, ८ र ६ लगायतमा वितरणको काम गरिरहेको छ ।

 

मङ्गलबार कार्यपालिकाको ४३औँ विशेष बैठकले ‘कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड २०७६’ जारी गर्दै गरेको व्यवस्थाअनुरुप महानगरले राहत सामग्री वितरण गरेको हो ।

 

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् ।

 

यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेका सबैलाई समान प्रकारको राहत र सहयोग उपलब्ध गराउन मापदण्ड बनाइएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

 

मापदण्डले अभिभावक नभएका, आफ्नो आयश्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ । यस परिभाषाभित्र महानगर क्षेत्रमा सञ्चालनमा रहेका अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिद आदिमा आश्रित व्यक्तिलाई पनि राखिएको छ । त्यस्तै आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ ।

 

महानगरका प्रवक्ता ईश्वरमा डङ्गोलका अनुसार त्यस्ता परिवारको विवरण राख्ने काम र वितरणको कामसँगै भइरहेको छ त्यसैले अहिले कतिको सङ्ख्यामा रहेका छन् भनि एकिन जानकारी छैन ।

 

दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भन्नाले सङ्गठित संस्थामा काम गर्ने बाहेक महानगरमा विगतदेखि दैनिकरुपमा ज्याला मजदूरी गर्दै आएका, काठमाडौँमा घरजग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने कामदार तथा मजदूर भनिएको छ । यस परिभाषाले, काठमाडौँमा घरजग्गा भएका वा नभएका बेरोजगार युवालाई नसमेट्ने मापदण्डले उल्लेख गरेको छ ।

 

कति पाइन्छ राहत ?

 

राहत दिन परिवार सङ्ख्याका आधारमा खाद्य सामग्रीको प्याकेट बनाउनु पर्नेछ । यदि १ जना मात्र व्यक्ति बस्ने रहेछ भने यसका लागि तयार पारिएको प्याकेटमा ४ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र १ किलो तरकारी हुनेछ ।

 

दोश्रो प्याकेटमा १२ किलो चामल, २ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, २ किलो चिउरा र ३ किलो तरकारी हुनेछ । यो दुई जनादेखि चारसम्मको परिवारका लागि हो ।

 

यदि कुनै परिवारमा ५ जनाभन्दा धेरै रहेछन् भने उनीहरुका लागि १६ किलो चामल, ३ किलो दाल, १ किलो नुन, १ लिटर तेल, १ किलो चिउरा र ४ किलो तरकारीको प्याकेट हुनेछ ।

 

यसका अतिरिक्त वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्थासमेत गर्न सक्नेछ ।

निगमले बेच्यो घुम्ती सेवामार्फत २ दिनमा २६० सिलिण्डर ग्यास Read Previous

निगमले बेच्यो घुम्ती सेवामार्फत २ दिनमा २६० सिलिण्डर ग्यास

लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न फिलिपिन्स राष्ट्रपतिको आदेश Read Next

लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न फिलिपिन्स राष्ट्रपतिको आदेश