महावीर पुनले बनाएका डाक्टरले लगाउने ड्रेस सरकारलाई निःशुल्क दिने, दैनिक ४८ थान उत्पादन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराउने भएका छन् । बिहीबारदेखि पीपीई बनाउन थालेका पुनले सरकार र अस्पताललाई आफूले निःशुल्क रुपमा उक्त सामग्री वितरण गर्ने बताएका छन् ।

 

बिहीबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालालाई नमूना देखाएपछि साँझैबाट उत्पादन शुरु गरिएको उनले बताए । ‘एउटा पिपिई बनाउनका लागि एक हजार पर्छ,’ उनले भने, ‘एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले उक्त सामग्री निःशुल्क दिनेछु ।’

 

चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा ६ जना मजदुरले अहिले पीपीई उत्पादन गरिरहेका छन् । मेगेसेसे पुरस्कार विजेता समेत रहेका पुनका अनुसार एकजना मजदूरले दिनमा ८ वटा पीपीई बनाउने छन् ।

 

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, बिपी कोइराला विज्ञान प्रतिष्ठान अस्पताल धरानका चिकित्सकले पिपिई बनाउन भनेपछि उनले बनाउन थालेका हुन् । ‘शिक्षण अस्पतालका चिकित्सकले एउटा नमूना दिनुभयो” उनले भने, ‘अनि त्यही नमूनाअनुसार मैले पीपीई बनाउन थालेको हुँ ।’

 

उनले पीपीई बनाउन थालेपछि जिल्लाका अस्पतालबाट चाहियो भनेर फोन आउने गरेका छन् ।

 

मजदूर र कच्चा पदार्थको अभाव

 

पुनले कोरोना भाइरस रोकथाम गर्न प्रयोग गरिने पिपिई आफूले उत्पादन गरे पनि अहिले लकडाउनका कारण मजदूर र कच्चा पदार्थको अभाव भएको बताए ।

 

‘मैले चाहिनेजति नै पिपिई बनाउने थिएँ’ उनले भने, ‘तर अहिलेको अवस्थाले गर्दा मजदूर र कच्चा पदार्थ पर्याप्त नपाइएकाले धेरै बनाउन समस्या भइरहेको छ ।’ उनले पीपीई बनाउन चाहिने कच्चा पदार्थ र मजदूर अहिले खोजिरहेका छन् ।

प्राधिकरणले ऊर्जा उद्यमीलाई तत्काल बिल भुक्तानी नगर्ने Read Previous

प्राधिकरणले ऊर्जा उद्यमीलाई तत्काल बिल भुक्तानी नगर्ने

लकडाउनमा ताजा तरकारी पाइएन : मनोहरा कृषि बजारलाई फोन गर्नुस् आधाघण्टामै आइपुग्छ Read Next

लकडाउनमा ताजा तरकारी पाइएन : मनोहरा कृषि बजारलाई फोन गर्नुस् आधाघण्टामै आइपुग्छ