बेलायती महारानी एलिजावेथका छोरा युवराज चार्ल्स पनि कोरोना संक्रमित भएका छन् । उनी हाल स्कटल्याण्डमा आइसोलेशनमा रहेका छन् ।
चार्ल्समा कोरोनाको केही लक्षणहरु देखिरहेको क्लेरेन्स हाउसले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । पछिल्ला हप्ताहरुमा सार्वजनिक कार्यक्रमहरुमा व्यस्त रहेका ७१ वर्षिय युवराजलाई कसरी कोरोना संक्रमण भयो भन्ने अझै पत्ता लागेको छैन ।
बेलायती राजदरबार बकिङगम प्यालेसका अनुसार महारानी एलिजावेथको स्वास्थ्य भने सामान्य नै छ । ९३ वर्षिय यी महारानीले गत मंगलबार देखि आफ्ना सबै कार्यक्रमहरु रद्द गर्दै आएकी छिन् ।
गत मार्च १२ तारिखका दिन महारानीले युवराज चार्ल्ससँग दरबारमा भेट गरेकी थिइन् । त्यसपछि पनि चार्ल्सले धेरै भेटघाटहरु गरेको बताइएको छ । चार्ल्सकी पत्नी क्यामिलामा पनि जाँच गरिएको थियो तर, उनमा भने संक्रमण नदेखिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । चार्ल्स महारानीको जेष्ठ सन्तान हुन् ।
७० वर्ष भन्दा माथीका मानिसहरुलाई कोरोना भाइरस थप जोखिमपूर्ण हुन्छ ।
यो महिनाको शुरुवाती समयमा समेत उनी आइसोलेशनमा बसेका थिएनन् । बेलायती सरकारले उक्त समयमा आइसोलेशनमा बस्नका लागि कुनै सुझाव नदिएको बताइएको छ ।