काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्रका सार्वजनिक ठाउँमा स्वच्छ पिउने पानीका लागि ‘स्मार्ट वाटर भेन्डिङ मेसिन (वाटर एटीएम)’ राखिने भएको छ । यसका लागि आज काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
एक कार्यक्रममा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डकातर्फबाट कार्यकारी निर्देशक सञ्जीबबिक्रम राणाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता बमोजिम चालू आर्थिक वर्षभित्र वडा ४ को शंखपार्क, वडा १५ स्वयम्भूको भुइँखेल, वडा १६ को बालाजु पार्क, वडा २८ को शंखधर पार्क र वडा ३१ को ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटीएम राखिनेछ । यी स्थानमा वाटर एटीम स्थापना गरेर आउँदो ३ वर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ भने महानगरपालिकाले एटीएम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराउनेछ ।
महानगरका प्रमुख विद्यासुन्दर सुन्दर शाक्यले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नका लागि प्रविधिजन्य प्रणाली जडान गर्दै लगिने बताए । ‘खानेपानीको न्यूनतम आवश्यकता पूरा गर्नुपर्ने आवश्यकता छँदैछ । यसका लागि मेलम्चीको आशा छ । काठमाडौंलाई धान्ने पानीका लागि याङ्ग्री र लार्के खोला जोड्ने काम हुनेछ भन्ने ठानेका छौं ,’ शाक्यले भने ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा खानेपानी व्यवस्थापनमा थप काम गर्दै जाने योजना रहेको बताए ।
काठमाडौं उपत्यकाका १५ स्थानमा ‘वाटर एटीएम’ राख्ने योजना महानगरको रहेको छ । बोर्डका कार्यकारी निर्देशक राणाले अहिले नचाहिए पनि १ लिटर पानी अनिवार्य किन्नु पर्ने अवस्था रहेको बताए । एटीएम जडान भएपछि उपभोक्तासँग आफूलाई चाहिनेजत्ति मात्र पानी किन्ने बिकल्प उपलब्ध हुने उनको भनाई थियो ।
उनले अहिले १ हजार ५ सय लिटरको ट््यांकीबाट दिइने सेवालाई पछि सोझै मेलम्चीको पाइप जडान गरिने योजना रहेको बताए । स्थापनापछिका ३ महिना सञ्चालन व्यवस्थापनसहित एटिएमको लागत मुल्य करीब १५ लाख ७५ हजार रहनेछ ।
सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतकाअनुसार वाटर एटिएमबाट उपभोक्तालाई सुपथ मुल्यमा पानी उपलब्ध गराएर बढ्दो प्लाष्टिकको प्रयोगलाई घटाउने छ ।
युनिसेफ र विश्व स्वास्थ्य संगठनका अनुसार अहिले पनि बिश्वमा हरेक ३ जना व्यक्तिमध्ये एक जना व्यक्ति स्वच्छ र पिउन योग्य पानीको पहुँचबाट बञ्चित छन् । सन् २०१० मा संयुृक्त राष्ट्र संघको महा सभाले, प्रत्येक व्यक्तिले पर्याप्त र निरन्तर, सुरक्षित, स्वीकार्य, शारीरिक पहुँचयोग्य पानी सस्तोमा पाउनु पर्ने पानी र सरसफाइ सम्बन्धि अधिकारको सुनिश्चित गरेको छ ।
राजधानी सहर काठमाडौंमा कामको सिलसिलामा बाहिर निस्कँदा यस प्रकार सस्तोमा पानी उपलब्ध हुने ठाउँ छैनन् । उपभोक्ताले आवश्यक नभए पनि १ लिटर पानी खरिद गर्नु पर्ने बाध्यकारी अवस्था आउँछ । वाटर एटिएमको सुबिधा विस्तार भएपछि उपभोक्तालाई चाहिए जति मात्र पानी खरिद गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ ।
के हो वाटर एटीएम
वाटर एटीएम एउटा उपकरणा हो । यसमा २ रुपैयाँको क्वाइन खसालेपछि ३०० मिलिलिटर पानी निस्कन्छ । त्योभन्दा बढी पानी चाहिए थप रकम खसालेर प्राप्त गर्न सकिन्छ । यसमा ५ रुपैयाँ तिर्दा १ लिटर पानी प्राप्त गर्न सकिन्छ । यो पानी बोतलमा थाप्न सकिन्छ ।