अब अत्यावश्यक अवस्थामा मात्र मापसे चेकिङ

काठमाडौैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक रूपमा गर्दै आएको मापसे लगायत अन्य चेकिङहरू अति आवश्यक अवस्थाबाहेक अन्य अवस्थामा नगर्ने तर चेकिङ गर्नुपर्ने अवस्थामा सावधानीपूर्वक चेकिङ गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

 

विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणबाट बच्न सतर्कता अपनाउँदै महाशाखाले सम्पूर्ण सवारी चालकहरूलाई मापसे लगायत अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाउन विशेष अनुरोध गरेको छ ।

 

यस्तै मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालक उपर दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरेको छ ।

 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालका ‘मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकलाई दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरिएको जानकारी दिए ।

 

उनका अनुसार ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रहरु नियमानुसारको जरिवाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ ।

 

ढकालका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महाशाखाले विशेष अभियानबाट यात्रु माथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भीडभाड हुने स्थानहरूमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भीडभाड कम गराउने गरी प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली आजदेखि खटाएको छ ।

 

‘यस विशेष टोलीले सीट क्षमताअनुसार मात्र यात्रु राख्न, यात्रुहरूलाई कोचिएर यात्रा नगर्न, सधैँ मास्क लगाएर यात्रा गर्न, भीडभाड गरी नबस्न विशेष अनुरोध गर्नेछन,’ उनले भने ।

 

महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूबाट उपत्यकाको ८६ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरी यो विशेष अभियान सञ्चालन गरिरहेको ढकालले बताउए ।

 

त्यस्तै सार्वजनिक सवारीसाधनलाई कोरना संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे नगरेको तथा सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको अनुगमन आजदेखि तीव्र पारेको महाशाखाले जनाएको छ ।

 

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोरोनाविरुद्ध जनचेतना र सावधानीका लागि आजदेखि कार्यालयको मूलगेटमा साबुन पानीले हात धुने र ज्वरो नापेर मात्र कार्यालयमा छिर्ने व्यवस्था गरिएको बताए ।

 

‘ट्राफिक महाशाखाको मूलगेट अगाडि बाल्टिनमा पानी र साबुन राखिदिएका छौं । ज्वरो नापेर र हात धोएर मात्र भित्र जानुहोला भन्ने सूचना समेत मूलगेट अगाडि राखेका छौं । कार्यलयमा प्रहरी कर्मचारी होस् वा सेवाग्राही आगन्तुकलाई साबुन पानीले हात धोएपछि मात्र भित्र प्रवेश गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने ।

शेयर बजार घट्नुअघि नै अमेरिकी सिनेटरले शेयर विक्री गरेको खुलासा Read Previous

शेयर बजार घट्नुअघि नै अमेरिकी सिनेटरले शेयर विक्री गरेको खुलासा

चैत २१ गतेसम्म सबै अदालत बन्द रहने Read Next

चैत २१ गतेसम्म सबै अदालत बन्द रहने