‘कोरोना परीक्षणमा टेकु अस्पतालको चरम लापरबाही’

काठमाडौं । डा. सुन्दरमणि दिक्षितले टेकु अस्पतालले कोरोना परीक्षणमा चरम लापरबाही गरेको आरोप लगाएका छन् । अस्पतालमा कोरोना संक्रमण टेस्ट गर्ने स्पेसल किट्स नभएको र रहेका किट्सहरु समेत भीआईपीका लागि मात्र भएको उनले दाबी गरे ।

 

मंगलबार (आज) संवाद चौतारीले गरेको छलफल कार्यक्रममा उनले अस्पतालमा आइसोलेशन बेडसमेत पर्याप्त नभएको बताए ।
देशको एक मात्र सरुवा रोग परीक्षण गर्ने टेकु अस्पतालको अवस्था भरोसा गर्न लायक नभएको उनले बताए ।

 

कोरोनाको आशंकामा टेकु पठाइएका बिरामीको परीक्षण नगरी फिर्ता पठाइएको उनले आरोप लगाए । कोरोनाको परीक्षणमा सरकारले उचित व्यवस्था नगर्दा नेपालमा कोरोना छ÷छैन समेत ठम्याउन नसकिएको उनको भनाइ ।

 

‘कोरोनाको परीक्षणका लागि आएका मानिसलाई परीक्षण नै नगरी फर्ता पठाइएका छन्, यस्तो अवस्थामा नेपालमा कोरोना छैन भनेर कसरी ढुक्क हुन सकिन्छ,’ डा. दिक्षितले भने ।

 

उनले आम जनतालाई नेपालमा कोरोना भित्रिएको छैन भनेर ढुक्क नहुन आग्रह गरे । ज्वरो आएकालाई मात्र नभई ज्वरो आएर निको भएकालाई समेत भाइरस हुनसक्ने उनले बताए ।

 

उनले आफ्नै क्लिनिकमा आएको बिरामीलाई कोरोना परीक्षणको लागि टेकु पठाउँदा अस्पतालले परीक्षण नै नगरी फिर्ता पठाएको बताए । ‘टेकु अस्पताले चेक जाँचका लागि पठाइएका बिरामीलाई ज्वरो आएको १५/२० दिन भइसकेछ, घर गएर आराम गर्नुस भनेर फिर्ता पठाउने गरेको छ,’ उनले भने ।

 

विश्व स्वास्थ्य संगठनले कोरोनाको बारेमा सम्पूर्ण नागरिकलाई जानकारी दिन र स्वास्थ्यको राम्रो परीक्षण गर्न भनिए तापनि टेकु अस्पताले बिरामीको स्वास्थ्यमा लापरबाही गरेको उनको आरोप छ ।

 

टेकु अस्पतालका डाक्टरले बिरामी परीक्षण गर्न हिच्किचाएको उनले दाबी गरे । अस्पतालले बिरामीलाई अन्य अस्पतालमा परीक्षण गरेर रिपोर्ट ल्याउन भनेको समेत जानकारी दिए ।

प्रधानमन्त्री र मिर्गौला दाताबीचको नाता प्रमाणितको दस्तावेज माग Read Previous

प्रधानमन्त्री र मिर्गौला दाताबीचको नाता प्रमाणितको दस्तावेज माग

चलचित्र उद्योगलाई राहत दिन नेपाल चलचित्र संघको माग, सबै क्षेत्रको अध्ययन गरिरहेको अर्थमन्त्रीको भनाई Read Next

चलचित्र उद्योगलाई राहत दिन नेपाल चलचित्र संघको माग, सबै क्षेत्रको अध्ययन गरिरहेको अर्थमन्त्रीको भनाई