काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आवागमनमा सहजता ल्याउने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोटेश्वर-कलंकी ८ लेन सडक खण्डमा लेन प्रयोगको नयाँ नियम ल्याउने भएको छ । चैत्र २ गतेदेखि नयाँ नियम लागू गरिने भएको छ ।
कोटेश्वर-कलंकी ८ लेन सडक खण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधनहरू दायाँ मुख्य लेनबाट मात्र चलाउने व्यवस्था सुरु गरिने भएको छ ।
उपत्यकाको सडक दुर्घटना न्यूनीकरण, सडकमा रहेको लेनलाई अनुशासित तथा व्यवस्थित रुपमा पालना गराउने, सवारी आवागमनलाई सहजता ल्याउने र ट्राफिक नियम पालनाको बानी बसाल्न उक्त नियम लागू गर्न लागिएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।
सडक व्यवस्थित र सुविधायुक्त भएको र यात्रुवाहक, मालवाहक र विस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चलाउने नियम कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको उनले बताए ।
उक्त सडक खण्डलाई व्यवस्थित गर्नाले ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने बताइएको छ । ट्राफिक नियमको पालन गर्ने बानीको समेत विकास ढकालको दाबी छ । महाशाखाले यसलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि सरोकारवाला, संघ संस्था, यातायात सञ्चालक र व्यवसायीहरू, नागरिक समाज लगायतसँग छलफले गरिसकेको जानकारी गराएको छ ।
उक्त नियम कार्यान्वयनको लागि ट्राफिक प्रहरीलाई सहयोग पुग्ने गरी अनुगमनको सम्पूर्णबाट प्रतिनिधित्व हुने गरी समितिसमेत गठन गरिएको छ ।
१० कि.मी. लम्बाई भएको र ८ लेन भएको यो सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ्क छ ।
सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरि जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढेको महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए ।
सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा सवारी चलाउँदा सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किमी प्रतिघण्टा र सर्भिस लेनमा २० किमी प्रतिघण्टाको गति निर्धारण गरेको छ ।
यस अघि महाशाखाले नमूनाको रुपमा जडीबुटी-सूर्यविनायक सडक खण्डमा यो नियम संचालनमा ल्याएको थियो । साे सडक खण्डमा अहिले यो नियम पूर्णरूपमा संचालनमा आइसकेको छ ।