व्यवसायीक क्षेत्रको नेतृत्वमा रहेका महिलाहरु के भन्छन् महिला दिवसको बारेमा ?

काठमाडौं । आज अन्तराष्ट्रिय महिला दिवस । विशेष गरि महिलाहरुको हक, हित र स्वतन्त्रताको आन्दोलनको सांकेतिक अभिव्यक्तिको रुपमा यो दिनलाई मनाइदैं आएको छ । यसै सन्दर्भमा नेपालमा महिला सशक्तिकरण, हक अधिकार र सम्मानको अवस्थाका बरेमा व्यवसायीक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेका केही महिलाहरुसँग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

 

कमला श्रेष्ठः अध्यक्ष, महिला उद्यमशिलता विकास समिति

कमला महिला दिवस वर्षमा एकपटक मात्र मनाएर नपुग्ने बताउँछिन् । नारी दिवस हरेक दिन घर–घरमा मनाउनु पर्ने उनको बुझाइ छ ।

 

‘हरेक घरका महिलाले सधै स्वतन्त्र रुपमा आफ्नो इच्छा, आकांक्षा व्यक्त गर्न सक्ने वातावरण हुनुपर्छ अनि मात्र महिला दिवस मनाउनुको औचित्य हुन्छ,’ चाणक्य पोष्टसँग श्रेष्ठले भनिन् ।

 

महिला दिवसको दिन र्याली, सभा गरिने भएता पनि त्यसले मात्र सार्थक परिवर्तन नल्याउने उनले बताइन् ।

 

सरकारले नारी केन्द्रित विभिन्न नीति तथा कार्यक्रमहरु ल्याए पनि त्यो उपत्यका केन्द्रित मात्र हुन पुगेको उनले गुनासो गरिन ।

 

‘सरकारले गरिस् भन्दा गरें भने जस्तो गरेर काम गरेको छ । आफुले गरेको काम कस्तो भयो भनेर मुल्याङ्कन गर्ने गरेको छैन,’ श्रेष्ठले भनिन् ।

 

उनले उपत्यकामा धितो रहित उद्यमी कर्जा पाइएपनि उपत्यका बाहिरका महिलाहरुले त्यसको उपभोग गर्न नपाएको बताइन । सरकारले उपत्यका बाहिर यसको कार्यान्वयनका लागि सूचना प्रवाहलाई चुस्त बनाउन नसकेको उनको ठम्याइ थियो ।

 

उनले महिलालाई दयामाया देखाउने नभएर अवसर चाँहि दिनुपर्ने बताइन । महिलाले एउटा घरलाइ राम्रोसँग सञ्चालन नगरे त्यो घर ध्वस्त हुने भन्दै उनले महिलालाई हेप्ने वा उसलाई कुनै बन्धनमा राख्नु नहुने बताइन ।

 

भवानी राणाः अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले महिला दिवस सँधै सबैको लागि महत्वपूर्ण रहेको बताएकी छिन् । उनले महिलालाई विश्वले महत्व दिएको भन्दै महिलालाई एक दिन मात्र नभई हरेक दिन सम्मान दिन आवश्यक रहेको उनले बताइन् ।

 

‘एक दिन सभा, र्याली, सम्मेलन गरेर मात्र हुन्न, हरेक घरबाट सँधै महिलाको सम्मान हुनुपर्छ,’ चाणक्य पोष्टसँग राणाले भनिन् । महिलाको भूमिकालाई बढावा दिनुका साथै हरेक क्षेत्रमा महिलालाई बराबर रुपमा लिएर अघि बढ्नु पर्नेमा उनले जोड दिइन् । त्यसमा विस्तारै परिवर्तन आइरहेको पनि उनले बताइन् ।

 

देशलाई समृद्धि तर्फ लैजान महिलाको पनि ठूलो भूमिका रहेको भन्दै उनले सहरमा मात्र नभई गाउँ–गाउँमा यसलाई विकास गर्दै लैजानु पर्ने उनले बताइन् ।

 

सरकारले महिलालाई प्राथमिकता दिएको बताउने उनले अब प्रविधि, उद्योगलगायत हरेक क्षेत्रमा महिलालाई अघि बढाउँदै लैजानु पर्नेमा जोड दिइन् ।

 

ऋतु सिंह वैद्यः एमडी युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि

युनाइटेड ट्रेडर्सकी ऋतु सिंह वैद्यले महिला दिवस मनाउनु राम्रो रहेको र यो एक दिन मात्र नभई सँधै मनाउनु पर्ने बताइन् । उनले हरेक महिला, पुरुष र परिवारले महिला दिवस घर–घरमा मनाउनु पर्ने बताइन् ।

 

‘महिला दिवस घर बाहिर एक दिन मनाएर मात्र हुन्न, हरेक दिन प्रत्येक घरमा महिला दिवस मनाइनु पर्छ,’ वैद्यले भनिन् ।

 

उनले महिला स्वतन्त्रताका लागि शिक्षाको आवश्यकता रहेको बताइन् । हरेक महिलासम्म शिक्षाको पहुँच हुनु पर्ने र त्यसपछि मात्र प्रत्येक महिलाले स्वतन्त्रता महशुस गर्ने वा त्यसका लड्न सक्ने उनले बताइन् ।

 

उनले हरेक आमा बुबाले आफ्नो छोराछोरीलाई समान स्तरको शिक्षा दिनु पर्ने बताइन् । विकशित क्षेत्रमा रहेका महिलाको तुलनामा पहाडी भेग र विकास पुग्न नसकेको ठाउँमा शिक्षाको थप आवश्यकता रहेको उनले बताइन ।

 

संबिधानले शिक्षा मौलिक हकको रुपमा व्याख्याला गरेपनि त्यो शिक्षा प्रत्येक नारीले लिन नसकेको भन्दै उनले शिक्षालाई हरेक महिला समक्ष पुर्याउनु पर्ने र उनीहरुलाई उड्न पखेटा दिनुपर्ने बताइन् ।

 

अन्जु शाहः सफाइ अभियन्ता

२६ वर्षदेखि फोहर व्यवस्थापन गर्दै आएकी अन्जु शाह सिंहले महिला दिवस अन्तराष्ट्रिय स्तरमै मनाइने भएकोले यसको छुट्टै महत्व भएको बताइन् । तर, एक दिनलाई मात्र महिला दिवसको रुपमा मनाइनु नहुने उनले बताइन ।

 

हिन्दु धर्ममा समेत परापूर्वकाल देखि नारीलाई सम्मान गरिदै र पुजिदैं आएको हुँदा नारीको महत्व छुट्टै रहेको उनले बताइन् । उनले नेपालमा महिलाहरुसँग पुँजी नभए पनि उनीहरु खुसी रहेको बताइन् । तर, सँधै खुसी छन् भनेर पल्दै जान नहुने उनको बुझाइ छ ।

सरकारले पर्यटकीय गन्तव्य विकास गर्न ३ अर्ब खर्च गर्ने Read Previous

सरकारले पर्यटकीय गन्तव्य विकास गर्न ३ अर्ब खर्च गर्ने

नारी दिवसमा एनआईसी एशिया बैंकले ल्यायो महिलालाई विशेष योजना Read Next

नारी दिवसमा एनआईसी एशिया बैंकले ल्यायो महिलालाई विशेष योजना