नारी दिवस नारी प्रति मात्र लक्षित अभियान नभएर समग्र प्रगति पथको आधार हो

नारी शब्द आफैंमा एक ठूलो महत्व बोकेको शब्द हो । आधा आकाश, अर्धनारीश्वर, दुर्गामाता, नारीशक्ति आदि जतिपनि सम्मानसूचक शब्दहरु प्रयोगमा छन् परापूर्व कालदेखि, आजसम्म पनि तिनले उति नै महत्व राख्ने गरेका छन् । एउटा घर वा समाज होस् वा एउटा राष्ट्रमा मात्र नभएर पूरा विश्वलाई नै तुलना गरौं त नारीबिनाको संसार कति निरस होला ? तसर्थ नारीको प्रगति भनेको त्यो घरको, त्यो समाजको, त्यो राष्ट्रको र पूरै विश्वको नै प्रगति हो भन्दा दुईमत हुँदैन ।

 

नारीको कुरा गरिरहँदा, पछिल्लो समय विश्वभर नै नारी शक्तिको विकास एवं प्रवद्र्धनका लागि थुप्रै कार्यहरु हुने गरेका छन् । नारी कै विकास एवं नारीलाई अझ बढी सशक्त बनाउन विगत लामो समयदेखि नारी दिवस समेत मनाउने क्रम तिव्र रुपमा नै अघि बढेको अवस्था छ ।

 

वर्षेनि नारी दिवस मनाउनुको औचित्य महिलाहरुको हक, अधिकार र सम्मानको मात्र कुरा नभएर उनीहरुलाई अझ बढी बलियो र सशक्त बनाउने एउटा पाटो पनि हो । त्यसैले नारी दिवसको अभियान र उत्सव कुनै नारी वर्ग विशेषप्रति मात्र लक्षित नभएर प्रगति पथको एउटा अभियान हो । जसरी चार्ज सकिएको ब्याट्रीलाई पुनःरिचार्ज गर्नुपर्छ त्यसैगरी लैंगिकताका आधारमा महिलामाथि भेदभाव नगरियोस् भन्ने चेतना जागृत गर्ने काम रिचार्ज गर्न वर्षेनि नेपालका साथै विश्वका सबै देशमा नारी दिवस मनाइन्छ ।

 

आत्मविश्वास, आत्मनिर्भरता, शील, सहनशीलताजस्ता गुण महिला सशक्तीकरणका आधार हुन् । यी आयामहरुबाट महिलाको प्रगतिका लागि घर, समाजको सहयोग आवश्यक हुन्छ भने स्वयं महिलाले पनि आफूलाई अघि बढाउनुपर्छ

 

यसरी सुरु भयो नारी दिवस

विश्वमा पहिलोपटक नारी दिवस फेब्रुअरी २८, १९०९ मा मनाइएको थियो । १९०८ को फेब्रुअरी २८ मा समाजवादी पार्टीले न्यूयोर्कमा गार्मेण्ट उद्योगमा हडताल गरेका थियो, जहाँ महिलाले कार्यस्थलको अव्यवस्थाका बारेमा आवाज उठाएका थिए । यही दिनको सम्झनामा महिला दिवस मनाइँदै आएको छ ।

 

अमेरिकाको राजनीतिक नाराका रुपमा आएको यो दिवस अहिले महिला अधिकार, महिला सशक्तीकरण, समानतालगायत विषयमा केन्द्रित हुन थालेको छ । अमेरिकाको समाजवादी पार्टीले फेबु्रअरी २८, १९०९ मा मनाएको राष्ट्रिय महिला दिवस नै पहिलो महिला दिवस हो । यसको १ वर्षपछि डेनमार्कको कोपेनहेगनमा भएको समाजवादीहरुको अन्तराष्ट्रिय सम्मेलनले यसलाई अन्तराष्ट्रिय मान्यता दियो ।

 

सन् १९११ मा आएर यसलाई ११ देशमा दिवसको रुपमा मनाउन थालियो । यसपछि हरेक वर्ष फेबु्रअरीको अन्तिम आइतवार विभिन्न मुलुकले नारी दिवसको रुपमा मनाउन थाले । सन् १९१७ मा रुसमा टेक्सटाइल क्षेत्रका महिला कामदारले रोटी र शान्ति (पहिलो विश्व युद्धको अन्त्य)को मागसहित फेबु्रअरीको अन्तिम आइतवार ऐतिहासिक हड्ताल गरे ।

 

यो जर्जियन क्यालेण्डरअनुसार ८ मार्चमा पर्ने भएकोले यो दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालिएको हो । सन् १९६० देखि यो दिवसमा महिला समानताका साथै महिला स्वायत्तताको विषयले प्राथमिकता पाउन थाल्यो । सन् १९८० देखि भने महिला–महिलाबीचको विविधता र यसैको आधारमा महिलामाथि हुने शोषण र दमनको व्याख्या गर्दै तेस्रो चरणको आन्दोलनको शुरुआत भयो ।

 

यस्तै, सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारी दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिलाई बोलाएर प्रत्येक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने आधिकारिक घोषणा ग¥यो । त्यसयता यो दिनलाई महिलाका विविध पक्षसँग जोडेर विश्वभर पर्वकै रुपमा मनाइँदै आएको छ । यस वर्ष पनि ८ मार्चलाई नारी दिवसको रुपमा मनाइएको छ । यस वर्ष ११०औं अन्तर्राष्ट्रिय नारी दिवसको मुख्य नारा भने ‘इच फर अल’ रहेको छ ।

 

जति नै कानुन बनेर, संविधानमा अंकित भए पनि रुढिवादी परम्परा समाप्त नहुँदासम्म नारीका रुपमा गरिने विभेदको अन्त्य हुँदैन । त्यसो त स्वभाव र परम्परा जादुझैं तुरुन्तै परिवर्तन हुँदैनन् । नारी दिवस मनाउँदैमा वा विभिन्न प्रतिबद्धता जनाउँदैमा मानिसको सोचमा परिवर्तन आउँदैन

 

यसरी विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थाल्यो । श्रीलंकामा श्रीमती सिरिमाओ बन्दरानाइके, भारतमा श्रीमती इन्दिरा गान्धी, बेलायतमा श्रीमती मार्गरेट थ्याचर, पाकिस्तानमा श्रीमती बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरीसमेत अन्ततः देशका प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्न पुगे ।

 

नेपालमा प्रधानमन्त्री बिपी कोइरालाको प्रधानमन्त्रीकालमा द्वारिकादेवी ठकुरानी पनि मन्त्रिमण्डलमा समावेश भएर महिलाको सहभागिता भएकामा अहिले आएर नेपालको प्रमुख राजनीतिक पद राष्ट्रपतिजस्तो उच्च पदमा महिला पुग्नु भनेको यो सवालमा विश्व इतिहासमा नेपाल अग्र पंक्तिमा देखा पर्नु हो ।

 

यसबाहेक सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो उच्च न्यायिक पदमापनि महिलाले केही समय बिताइसकेको अवस्था छ । विश्वका महिलाले नेपालका महिला सहभागिताको उदाहरण देखेर हर्ष मान्नुपरेको छ । यो उदाहरण नै अन्तराष्ट्रिय नारी दिवसको उपादेयता हो ।

 

पछिल्लो समय मुलुकभित्र नारीको वर्चस्व बढ्दै जानुले समग्र देशलाई उन्नतितर्फ अघि सार्नु रहेको महिला उद्यमशीलता विकास समितिकी अध्यक्ष कमला श्रेष्ठ बताउँछिन् । विगत केही वर्षयता नेपाली महिलाहरु घरधन्दा तथा चुलोचौकाबाट निस्केर रोजगारीमा संलग्न हुन थालेको बताउँदै श्रेष्ठ भन्छिन्, यसलाई अझ बढी सक्रिय पार्नु आवश्यक छ । पहिलेको तुलनामा हाल थुप्रै महिला रोजगारमा आवद्ध रहेका छन् । यद्यपी यसलाई अझ बढीरुपमा प्रभावकारी बनाउनु आवश्यक रहेको उनले औल्याइन् ।

 

‘सरकारले महिलासंग सम्बन्धित थुप्रै नीति नियमहरु बनाएको छ’, अध्यक्ष श्रेष्ठ भन्छिन्, ‘तर त्यो सहर केन्द्रित मात्रै भएका छन् । तसर्थ सरकारले गाउँ गाउँसम्म पनि महिलाका लागि आवश्यक सेवा सुविधा पु¥याउनु पर्ने देखिएको छ ।’ त्यस्तै महिलाहरुलाई रोजगारमा संलग्न गराउन पूर्णरुपमा महिलामैत्री वातावरण निर्माण गर्नु आवश्यक रहेको उनको ठम्याई छ ।

 

नारी शक्तिको विकास र नारीलाई अझ बढी शसक्त बनाउने कुरा गरिहँदा विभिन्न कुरामा ध्यान दिनुपर्ने विभिन्न क्षेत्रमा आवद्ध महिलाहरु बताउँछन् ।

 

प्रगतिको आधार र महिला सम्मानको भूमिका समान हक

अस्तित्वले सिर्जना गर्दा नै प्रकृति र पुरुषको हिसाबमा मानिसको सिर्जना गरेको छ । अस्तित्वले दिएको स्वभाव र अधिकार कसैले खोसेर खोसिँदैन । प्रेम, करुणा, सम्मान, ध्यान, परोपकार, समाजसेवाजस्ता अमूल्य कामहरुमा महिलाले हक खोजिरहनु पर्दैन ।

 

यी गुण उनीहरुलाई पहिलेदेखि नै अस्तित्वले प्रदान गरेको छ । अब कुरा आउँछ सम्पत्तिमा हक, राजनीतिमा हक, शिक्षामा हक, स्वतन्त्र भएर बाँच्न पाउने हक । यी कुराहरुमा पितृसत्तात्मक परिपाटीका कारण महिलाहरुलाई पछाडि पारिएको छ । अहिले त यी कुरामा पनि धेरै प्रगति भैसकेको छ ।

 

सशक्त नभैकन कुनै पनि कुरामा प्रगति हासिल गर्न सकिँदैन तर के कुरामा पहिले सशक्त हुनुपर्छ त्यो जान्नु जरुरी हुन्छ । व्यक्तिगत रुपमा शारीरिक, मानसिक, बौद्धिक एवं आध्यात्मिक रुपमा सशक्त हुनु जरुरी छ

 

नेपालको संविधानमै महिला हक– अधिकारका सम्बन्धमा अनेकन व्यवस्था छन् । नीति निर्माणदेखि राजनीतिक सहभागिता अनि अरु धेरै पक्षबाट महिला सहभागितालाई प्राथमिकतामा राखिएको छ । कुनै पनि क्षेत्रमा महिलाले आफ्नो सक्षमता प्रस्तुत गर्न सक्ने हो भने ढोका खुल्ला छ र अवसर पनि त्यत्तिकै छन् ।

 

अब महिलाले आरक्षणमा मात्र सीमित नभएर प्रत्यक्ष सहभागिता जनाउँदै आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुपर्छ । समान हकका लागि आफैंले गरेर देखाउने बेला आएको छ ताकि महिला भएकै कारणले कसैले हेप्न नसकून् र हकका लागि झन्डा बोकेर सडकमा उत्रनु पर्ने स्थिती सिर्जना नहोस् ।

 

रुढिवादी परम्परालाई निरुत्साहित गर्दै जानुपर्ने

 

जति नै कानुन बनेर, संविधानमा अंकित भए पनि रुढिवादी परम्परा समाप्त नहुँदासम्म नारीका रुपमा गरिने विभेदको अन्त्य हुँदैन । त्यसो त स्वभाव र परम्परा जादुझैं तुरुन्तै परिवर्तन हुँदैनन् । नारी दिवस मनाउँदैमा वा विभिन्न प्रतिबद्धता जनाउँदैमा मानिसको सोचमा परिवर्तन आउँदैन ।

 

त्यसका लागि प्रेमपूर्ण घर एवं समाज निर्माण गर्नु पहिलो आवश्यकता हो किनभने प्रेममा विभेद हुँदैन । प्रेम जगाउन होसपूर्ण, साक्षी भावपूर्ण वातावरण तथा जागृत मनस्थितिको आवश्यकता पर्छ । ध्यानबाट मात्र चेतना जागृत भै व्यक्ति होशपूर्वक र प्रेमपूर्ण रहन सक्छ । जीवनका सम्पूर्ण आयामहरुमा होश, जागरुकता र सजगता कायम राख्न सक्ने हो भने महिला र पुरुष भन्ने भिन्नता नै आउँदैन । घर, समाज, राष्ट्र र विश्व नै प्रेमपूर्ण हुन सकेको भए विभेद भन्ने कुराको अस्तित्व नै हुने थिएन ।

 

सशक्तीकरण

सशक्त नभैकन कुनै पनि कुरामा प्रगति हासिल गर्न सकिँदैन तर के कुरामा पहिले सशक्त हुनुपर्छ त्यो जान्नु जरुरी हुन्छ । व्यक्तिगत रुपमा शारीरिक, मानसिक, बौद्धिक एवं आध्यात्मिक रुपमा सशक्त हुनु जरुरी छ । किनभने महिलाहरु जबसम्म शारीरिक रुपमा स्वस्थ र मस्त हुँदैनन्, मानसिक रुपमा शान्त र प्रसन्न हुँदैनन् अनि बौद्धिक रुपमा के सही के गलत छुट्याउन सक्दैनन् र आध्यात्मिक रुपले आफ्नो स्वभाव पहिचान गरी, आफ्नो गुणधर्ममा रहने खुबी राख्दैनन् तबसम्म समानता र अधिकारले कुनै अर्थ राख्दैन । शारीरिक, मानसिक, ह्दयको तह एवं आध्यात्मिक तहको जीवनशैली अपनाउने र पूर्ण मानव हुन प्रयास गर्नु नै सशक्त हुने उपाय हो ।

 

कानुनी एवं राजनीतिक रुपमा समान सहभागिता जनाउन चाहन्छु भनेर समानताको उद्घोष गर्नुलाई सामाजिक सशक्तीकरणका रुपमा बुझिन्छ । हिजोआजका महिलाहरुले व्यक्तिगत सशक्तीकरणभन्दा सामाजिक सशक्तीकरणमा जोड दिन थालेको पाइन्छ ।

 

व्यक्तिगत रुपमा सशक्त हुनु पहिलो प्राथमिकता हो । किनभने जब महिलाहरु व्यक्तिगत रुपमा आफैंमा सशक्त हुन्छन् तबमात्र उनीहरुका सन्तानले पनि सही शिक्षा र उचित मार्ग पाउँछन् । आफू शिक्षित, स्वस्थ, मस्त, आनन्दित र प्रेमपूर्ण रहनु पहिलो प्राथमिकता हो ।

 

राजनीतिक एवं सामाजिक सहभागिता घर, परिवार र आनन्दपछिको दोस्रो प्राथमिकता हो । जसरी पहिलो खुट्किलो नचढी दोस्रो चढ्न खोज्दा लड्ने सम्भावना हुन्छ त्यसैगरी पहिलो सशक्तीकरणमा उत्तीर्ण नभई दोस्रोमा जाँदा लड्ने सम्भावना त्यत्ति नै रहन्छ ।

 

आत्मविश्वास, आत्मनिर्भरता, शील, सहनशीलताजस्ता गुण महिला सशक्तीकरणका आधार हुन् । यी आयामहरुबाट महिलाको प्रगतिका लागि घर, समाजको सहयोग आवश्यक हुन्छ भने स्वयं महिलाले पनि आफूलाई अघि बढाउनुपर्छ ।

कोरोना भाइरसको प्रभाव अध्ययन गर्दै अर्थ मन्त्रालय Read Previous

कोरोना भाइरसको प्रभाव अध्ययन गर्दै अर्थ मन्त्रालय

१० महिनालाई पुग्ने नुन मौज्दात, अनावश्यक भण्डारण नगर्न आग्रह Read Next

१० महिनालाई पुग्ने नुन मौज्दात, अनावश्यक भण्डारण नगर्न आग्रह